
काठमाडौँ, २ कात्तिक । नेकपा एमालेले सरकारको नेतृत्व गरेको एकसाता बितिसक्दा पनि आफ्नै पार्टीबाट मन्त्री टुंगो लगाउन सकेको छैन् ।
एमालेबाट उपप्रधानमन्त्री को हुने भन्ने टुंगो लाग्न नसक्दा मन्त्री छान्न नसकेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपमहासचिव विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने पक्षमा हुनुहुन्छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पनि प्रधानमन्त्रीले नामै किटेर पौडेलको नाम लिनुभएको थियो । तर, एमालेकै कतिपय प्रभावशाली नेताहरुले पौडेलको सट्टा उपाध्यक्ष भीम रावललाई मन्त्री बनाउन खोजेकाले अलमल भएको स्रोतले दैनिक नेपाललाई बतायो । उपमहासचिव पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बने उपाध्यक्ष रावल मन्त्रिपरिषद् जाने सम्भावना रहन्न ।
सरकारको नेतृत्व एमालेले गरेपनि सबैभन्दा बढी मन्त्रालय (आठ वटा) एमाओवादीले लिइसकेको छ । सत्ता साझेदार दलहरुसँगको साझेदारी अनुसार एमालेले सातवटामात्रै मन्त्रालय पाउनेछ । जसमध्ये सत्यनारायण मण्डल, अग्नि खरेल र सोमप्रसाद पाण्डे मन्त्री बनिसक्नुभएको छ । बाँकी चार जनामा पनि करिब चालिस जना दौडमा छन् । जसका कारण अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समस्या भएको छ ।
चारवटामा पनि एक–एक जना महिला र जनजाति पृष्ठभूमिका नेता मन्त्री बन्ने र बाँकी दुईजना खसआर्य समुदायबाट बन्नेछन् । अर्कोतर्फ, पार्टीकै प्रभावशाली नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल निकटस्थलाई समेत मन्त्रीमा समेट्नुपर्ने बाध्यता प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता समेत रहेका ओलीसँग छ ।
एमालेमा मन्त्री छान्न अप्ठेरो भइरहेका बेला एउटा मन्त्रालय भागमा परेको राप्रपामा समेत मन्त्री छान्न समस्या परेको छ । दीपक बोहोरा वा बिक्रम पाण्डेमध्ये कसलाई मन्त्री बनाउने भन्नेमा राप्रपाभित्र बहस जारी छ ।
तीनवटा मन्त्रालय पाइसकेको राप्रपा नेपालबाट दुई जना मन्त्री भइसकेका छन् । बाँकी एकजनाको नाम टुंग्याउन बाँकी छ ।
नेकपा मालेबाट उपप्रधानमन्त्री पाएमा अध्यक्ष सिपी मैनाली आफै जाने दाउमा हुनुहुन्छ ।
एउटा मन्त्रालय पाएको राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री बनाउन एमालेकै कतिपय नेताहरुले चाहेका छन् । त, केसी मन्त्री बन्ने या नबन्ने टुंगो लागेको छैन् ।















प्रतिक्रिया