रुकुम, २ कात्तिक । विभिन्न अपराधमा संलग्न रहेका हुकाम–९ डिमुरगैराका ३३ वर्षीय शेरबहादुर सुनार (विक) लाई जिल्ला प्रहरी कार्यालय रुकुमले आज सार्वजनिक गरेको छ ।
डाँका, चोरी, लुटपाटलगायतका आपराधिक घटनामा संलग्न रहेका ३३ वर्षीय सुनारलाई प्रहरी चौकी हुकामका प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले २०७२ असोज २७ गते बुधबार उनकै घरबाट पक्राउ गरेको थियो । सुनारविरुद्ध खजाना तथा हातहतियार चोरी, लुटपाटलगायतका विभिन्न एक दर्जनभन्दा बढी मुद्दा दायर गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
उसबाट नाइल एमएम अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलमा प्रयोग हुने गोली १२ राउन्ड, ३८ बोर पेस्तोलको चार राउन्ड गोली तथा विभिन्न हतियारमा प्रयोग हुने अरु ३२ राउन्ड गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।
उनी डोल्पा जिल्ला साल्दाङ–१ मा डकैती गरी घटनास्थलबाट फरार अभियुक्त हुन् । उनी पक्राउ गरेसँगै यस वर्ष दसैँ, तिहार र छठ पर्वमा रुकुममा आपराधिक घटनामा कमी आउने अनुमान गरिएको छ । रासस















प्रतिक्रिया