भक्तपुर, १ कात्तिक । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवम् केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसलाई धुलोमा मिलाएको आरोप लगाउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको सरकार गठन गरेर सफलताको शिखरमा पुगेको पार्टीलाई सभापतिसमेत रहनुभएका कोइरालाले धुलोमा मिलाएको बताउनुभएको हो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि सरकार गठन हुँदादेखि भएको सहमति, दलबीच भएको १६ र ७ बुँदे सहमति विपरीत गएर काँग्रेसले अहिलेसम्मको उपलब्धि र जस गुमाएको उहाँको भनाइ थियो ।
“संविधान जारी गरेपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो”, उहाँले भन्नुभयो–“संविधान जारीपछि पनि दलबीच के के गर्ने भन्ने सहमति भएकै हो तर काँग्रेसले सहमति लत्यायो ।”
संविधान जारी गरेर शिर ठाडो गरेर जस लिने काँग्रेसले संविधान कार्यान्वयन गर्ने बेलामा दलबीचको सहमति तोडेको बताउँदै खड्काले भन्नुभयो–“सहमतिअनुसार नै अगाडि बढ्नुपर्छ भनेर भन्दा महामन्त्री र आफूलगायत सहमतिको पक्षमा उभिने नेताले गल्ती गरे भनिएपनि हामीले गल्ती गरेका छैनौँ ।”
कार्यक्रममा काँग्रेसका जिल्ला सभापति गणेशमान चक्रधर, वरिष्ठ अधिवक्ता बाबुराजा जोशी लगायतले काँग्रेस सहमति र सहकार्यबाटै अगाडि बढ्नुपर्ने औँल्याउनुभयो । रासस












प्रतिक्रिया