काठमाडौँ, १ कात्तिक । सार्क सम्मेलनको समयमा हटाइएकोे फुटपाथ पसल पुनः सञ्चालनमा आउन नसक्ने काठमाडौँ महानगरपालिकाले बताएको छ ।
सडक छेउमा राखिएको सबै पसल नियम विपरीत रहेकाले हटाइएको महानगरपालिकाको भनाइ छ । अब त्यस्ता पसल पुनः सञ्चालन गर्न नदिइने भएको छ ।
हटाइएका स्थानमा पसल राख्न पुनः प्रयास भएमा कारबाही गरिने र विस्थापित भएकाका लागि सरकारले कुनै किसिमको व्यवस्थासमेत नगर्ने पनि महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताउनुभयो ।
सापकोटा भन्नुहुन्छ, “सडक छेउका पसलले दुर्घटना बढ्ने र फुटपाथमा हिड्ने यात्रुलाई कठिनाई हुने भएकाले त्यस्ता पसल हटाउनुपर्ने भएको हो ।”
महानगरपालिकाको सर्वेक्षणअनुसार महानगरभित्र झन्डै पाँच हजार फुटपाथ पसल छन् । गत मङ्सिरमा भएको सार्क सम्मेलनका समयमा पुरानो बसपार्कका ४७ सहित चाबहिल, गोगङ्बु, कोटेश्वर, गौशाला, वनस्थली, बानेश्वर, सुकेधारा, कालीमाटीलगायतका करिब ५०० पसल टहरा हटाइएको थियो ।
गरिबी, बेरोजगारी र सहरप्रति आकर्षणका कारण महानगरपालिकाभित्र फुटपाथ पसल थपिने क्रम जारी छ । महानगरपालिकाले फुटपाथमा पसल राख्नेबाट वार्षिक करिब रु ४० लाखसम्म आम्दानी गरेपनि त्यस्ता पसलले नागरिकको दैनिक जीवनमा भने असर पारेको छ । कार्यालयले फुटपाथमा पसल राख्नेबाट स्थान र सामानको प्रकृति हेरी रु १०० देखि रु एक हजारसम्म जरिवाना लिँदै आएको छ ।
कार्यान्वयन महाशाखाले अब तत्काल कालीमाटी, रत्नपार्क, रवि भवनलगायतका स्थानमा राख्दै आएको फुटपाथ पसल हटाउने तयारी गरेको छ ।
कानुनीरुपमै फुटपाथ पसल राख्न नपाउने र पटक÷पटक पसल राख्नेलाई जरिवाना स्वरुप लिने गरिएको रकम बढाउनुपर्ने महानगरपालिकाको भनाइ छ ।
हटाएको पसल पुनः राख्न नदिने र सञ्चालनमा रहेकालाई छिटो हटाउने महानगरपालिकाको भनाइप्रति फुटपाथमा पसल गर्दै आएकाहरु असन्तुष्ट देखिएका छन् । लामो समयदेखि आपूmहरु फुटपाथमा पसल गर्दै आएकाले पुनः पसल राख्न पाउनुपर्ने धारणा उनीहरुको छ ।
सार्क शिखर सम्मेलनमा पाहुनालाई नगरको सुन्दरता देखाउन हटाइएका सडक छेउकोे पसल पुनः सञ्चालन हुन नसक्दा गरी खाने बाटो नै हराएको सडक व्यापारी विनोद चेपाङ बताउनुहुन्छ ।
लिखितरुपमा नै सम्झौता नभए पनि हटाउने समयमा पुनः पसल सञ्चालन गर्न दिने सल्लाह भएको पीडित व्यापारीहरु बताउँछन् । करिब २० वर्षदेखि पुरानो बसपार्कमा कपडा पसल गर्दै आउनुभएका हरिप्रसाद पाण्डेले सडक छेउमा पसल गरेरैै आफ्ना सन्तानलाई राम्रो किसिमको उच्च शिक्षा दिन सकेको बताउनुहुन्छ ।
दोलखा घर बताउने पाण्डेले भन्नुभयो, “यस पेसाबाट नै आपूmले छोरीलाई स्टाफ नर्स र छोरालाई होटल व्यवस्थापन पढाए । लामो समयदेखि आपूmले गर्दै आएको व्यवसायको स्थान सरकारले खोस्दा मलाई त घरपरिवार चलाउन नै धौधौ हुन्छ ।”
उहाँले पसल राखेको स्थानको भाडा मासिक रु ६०० तिर्नुहुन्छ । चाडवाडको बेलामा दैनिक रु ३५ हजारदेखि रु ४० हजारसम्म आम्दानी हुन्छ । अरु बेला रु १० हजारदेखि रु १५ हजारसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
एघार वर्षदेखि ललितपुरको जावलाखेलमा फलपूmल पसल गर्दै आउनुभएका फुलमाया उप्रेतीले सरकारप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो – “सार्क सम्मेलनपछि पुनः राख्न दिने भन्ने आश्वासन दिएर सरकारले हामीजस्ता हजारौँ व्यक्तिको व्यवसाय खोसेको छ ।” रासस
















प्रतिक्रिया