काठमाडौँ, ३० असोज । सत्ता साझेदार दलले मन्त्रिमण्डलमा सहभागी गराउने नेताहरुको विषयमा अन्तिम निर्णय गर्न नसक्दा सरकार विस्तार हुन अझै केही दिन लाग्ने भएको छ ।
सरकारको प्रमुख घटक नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले मन्त्रीको चयन गर्न नसक्दा सरकार विस्तारको प्रक्रिया अझै केही दिन विलम्ब हुने देखिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज २४ गते प्रधानमन्त्री निर्वाचित हुनुभएपछि तत्कालै सरकार विस्तार हुने र मुलुकले भोग्नुपरेको समस्या समाधानमा केन्द्रित हुने अपेक्षा गरिए पनि दलहरुबीच आन्तरिक रुपमा निर्णय गर्न समय लागेका कारण अन्योल बढेको हो ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई शपथ गराइसक्नुभएको छ । यस्तै, एमाओवादी र एमालेका केही मन्त्रीले सपथ लिनुभए पनि सरकार विस्तार हुन सकेको छैन ।
एमाओवादीलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने समझदारी भइसकेको छ । तर सो पदमा कसलाई पठाउने भन्ने विषयमा छलफल जारी रहेको एमाओवादीले जनाएको छ ।
एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले छलफल जारी रहेको र आइतबारसम्म अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउन सक्ने जानकारी दिनुभएको छ ।
नेकपा (एमाले) को पनि आन्तरिक छलफल जारी रहेका कारण सरकार विस्तार गर्न एक दुई दिन लाग्न सक्ने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी दलहरुसँग आन्तरिक छलफल गरेर एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरिने बताउनुभयो ।
सरकार विस्तार नहुँदा चाडबाडको समयमा विभिन्न मन्त्रालयले सम्पादन गर्नुपर्ने कामसमेत प्रभावित भएको छ भने प्रधानमन्त्रीले धेरै मन्त्रालयको कामसमेत हेर्नुपर्दा असहज भएको छ ।
एमाओवादीले उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएर पार्टी सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी गराउने बताएको छ ।
यस्तै, नेताहरु सापकोटा, शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यसअघि कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मा दिइसकेको छ । रासस













प्रतिक्रिया