काठमाडौँ, ३० असोज । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली काँग्रेसले चाहेको पद दिन सकिने बताउनुभएको छ ।
कागेश्वरी मनहरा नगरपालिका गोठाटारमा आज आयोजित एक कार्यक्रममा उहाँले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आपूmहरुले पनि काँग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको उल्लेख गर्नु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले भन्नुभयो, “इतिहासमा नै महिला पहिलो पटक सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुसी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबै भन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौ ।”
नेपालको संविधान जारी हुँदा ८५ प्रतिशतको हस्ताक्षर र ९० प्रतिशतको सहमति भएको र प्रधानमन्त्री र सभामुखको निर्वाचनपछि शत प्रतिशतले संविधान स्वीकार गर्नु सुखद भएको बताउँदै नेता नेपालले आगामी दिनमा मुलुकमा अझ एकतावद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले काठमाडौँ – तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा सांसद् रामेश्वर फुयालले स्थानीय क्षेत्रको विकास निर्माणमा सबै राजनीतिक दल केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । रासस












प्रतिक्रिया