काठमाडौँ, २९ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिले विगतमा उठाइएका एजेन्डालाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
अध्यक्ष चन्द्रप्रसाद रिजालसहितको १७ सदस्यीय कार्यसमितिले आज पत्रकार सम्मेलन गरी निर्वाचनका दौरानमा दुवै पक्षले उठाएका व्यावसायिक एजेन्डालाई एकताबद्ध भइ कार्यान्वयनमा ल्याइने जनाएको हो ।
अध्यक्ष रिजालले निर्वाचन अघि दुई समूह भए पनि व्यावसायिक एजेन्डा साझा भएकाले अब व्यावसायिक कार्यमा एकताबद्ध भएर पदयात्रा र पर्यटन प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।
उहाँले टानलाई सम्मानित र सबैको साझा संस्थाका रुपमा विकास गरी भूकम्पपछि थलिएको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम ल्याइने उल्लेख गर्नु भयो ।
महासचिव कर्णबहादुर लामाले दुवै पक्षले उठाएका एजेन्डा साझा भएकाले यसलाई आधार मानेर क्रियाशील भई पर्यटन उद्योगलाई माथि उठाउने बताउनुभयो ।
कोषाध्यक्ष लीला बल्लभ दाहालले हिजोसम्म दुई खेमामा रहेका व्यवसायी निर्वाचनपछि एउटै कित्तामा पुगेको भन्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । रासस















प्रतिक्रिया