१ कार्तिक २०८३, शनिबार

बन्द तथा नाकाबन्दीले रुपन्देहीको विकास निर्माण ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Udyog-bhairhwa (2)– दीपक घिमिरे
लुम्बिनी (रुपन्देही), २९ असोज । लामो बन्द र नाकाबन्दीका कारण सिमेन्ट तथा निर्माणजन्य सामग्रीको उत्पादन र ढुवानी ठप्प भएपछि रुपन्देहीमा विकास निर्माणका काम प्रभावित भएका छन् । जिल्लामा सञ्चालनमा रहेका सरकारी विकास निर्माणका कामसँगै निजी निर्माणका कामहरु पनि सिमेन्ट अभावमा रोकिएका हुन् ।

रुपन्देही हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष सुनिल मरासिनीले भन्नुभयो – “निर्माणका लागि सिमेन्ट आधारभूत सामग्री हो । सिमेन्ट छैन । खोज्न आउने ग्राहकलाई रित्तै फर्काउनु परेको छ । सिमेन्ट नभएपछि निर्माणका काम हुने कुरै भएन ।” निर्माण सामग्रीहरुमध्ये अहिले बजारमा सिमेन्टको पूर्ण अभाव रहेको तिलोत्तमा–११ प्रदीपनगरका हार्डवेयर व्यवसायी बुद्धि सापकोटाले बताउनुभयो ।

अरु सामग्री भए पनि सिमेन्ट नहुँदा विकास निर्माणका काम प्रभावित भएको निर्माण मजदुरहरुको भनाइ छ । “सिमेन्ट नभएकाले घर बनाउने काम बीचमै रोक्नु परेको छ,” ठेकेदार विष्णु चौधरीले भन्नुभयो । पछिल्लो पटक पेट्रोलियम पदार्थको अभावले अरु निर्माण सामग्रीको पनि सहज आपूर्ति हुन छाडेको छ । “डिजेलको अभावले ढुँगा, गिट्टी, बालुवा जस्ता सामग्री सहज रुपमा ढुवानी गर्न सकिएको छैन,” लुम्बिनी ट्रेक्टर व्यवसायी समितिका अध्यक्ष खेम गौतमले भन्नुभयो । उहाँका अनुसार डिजेल नहुँदा ट्रेक्टरले कृषिको काम पनि सहज रुपमा गर्न सकेका छैनन् । मुख्य खाद्यबाली धान भित्रयाउने बेला डिजेल अभाव हुँदा किसानहरु मर्कामा परेको उहाँले उल्लेख गर्नुभयो ।

रुपन्देहीमा मूलतः भैरहवा–लुम्बिनी करिडोरको बेथरीमा भएको गोलीकाण्डपछि सिमेन्टको आपूर्ति पूर्णरुपमा रोकिएको हो । बेथरी गोलीकाण्डपछि करिडोरमा रहेका सिमेन्ट उद्योगबाट ढुवानी हुन सकेको छैन । यसअघि प्रहरीको स्कर्टिङमा सिमेन्टको ढुवानी हुँदै आएको थियो । “बेथरीको घटनापछि बजारमा सिमेन्ट आएको छैन,” हार्डवेयर व्यवसायी सङ्घका अध्यक्ष मरासिनीले भन्नुभयो ।
रुपन्देहीमा यहाँकै उद्योगको सिमेन्ट खपत हु“दै आएको छ । जिल्लामा हाल दश वटा सिमेन्ट उद्योग छन् । यहाँका उद्योगले दैनिक झण्डै एक लाख बोरा सिमेन्ट उत्पादन गर्दैआएका थिए । रुपन्देहीका उद्योगको उत्पादनले राष्ट्रिय मागको ३५ प्रतिशतभन्दा बढी पूरा गर्ने उद्योगीहरु बताउँछन् । तर मधेश आन्दोलनसँगै डेढ महिनादेखि यी उद्योग बन्द छन् ।

“सबै उद्योगको उत्पादन बन्द छ,” रुपन्देहीको मैनहियास्थित अर्घाखा“ची सिमेन्ट उद्योगका महाप्रवन्धक उद्धवबहादुर कार्कीले भन्नुभयो – “यसैले बजारमा सुन पाउन सजिलो छ तर सिमेन्ट पाउन मुस्किल ।”

रुपन्देहीका सिमेन्ट उद्योगले दैनिक लगभग दश करोड मूल्य बराबरको उत्पादन गर्दै आएका थिए । उद्योगको उत्पादन ठप्प भएसँगै राज्यलाई दैनिक लाखौं राजस्व घाटा हुँदै आएको छ । उद्योगमा कार्यरत मजदुर कर्मचारीहरुको विचल्ली भएको छ ।

अभावसँगै बजारमा सिमेन्टको कालोबजारी बढ्न थालेको छ । कतिपयले भण्डार गरी राखेको सिमेन्ट बढी मूल्यमा बेच्ने गरेको उपभोक्ताको गुनासो छ । हार्डवेयर व्यवसायी समितिले बढी मूल्यमा सिमेन्ट खरिद नगर्न उपभोक्तालाई आग्रह गरेको छ । भैरहवा–लुम्बिनी करिडोरका उद्योगबाट सिमेन्टको ढुवानी रोकिएपछि रुपन्देहीमा दाङबाट सिमेन्ट आउन थालेको छ । कतिपयले दाङबाट आएको सिमेन्टमा कालोबजारी गर्न थालेका छन् । “दाङबाट सिमेन्ट ल्याएर बेच्ने दलालहरु बढेका छन्,” तिलोत्तमा–११ प्रदीपनगरका हार्डवेयर व्यवसायी सापकोटाले भन्नुभयो ।

व्यवसायीहरुका अनुसार यस्ता दलालले हार्डवेयर व्यवसायीलाई यस्ता दलालले ‘फकाउने’ गरेको बताउनुभयो । यसरी दाङबाट आएको सिमेन्ट प्रतिबोरा नौ सय रुपैंयाँसम्ममा बिक्री भैरहेको छ । अहिले सिमेन्ट मूल्य ५६० रुपैयाँको हाराहारीमा छ । “हामीले कालोबजारीको सिमेन्ट बिक्री नगर्न व्यवसायी र खरिद नगर्न उपभोक्तालाई आग्रह गर्छौं,” अध्यक्ष मरासिनीले भन्नुभयो ।

यता, अत्यावश्यक वस्तुमा हुनसक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न रुपन्देही जिल्लामा अनुगमन तीव्र पारिएको छ । आपूर्ति सहज नभएको मौका छोपेर इन्धन, खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कालोबजारी रोक्न अनुगमन टोली सक्रिय पारिएको हो । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जिल्लामा दुई वटा टोली गठन गरेर बजार अनुगमन तीव्र पारिएको जानकारी दिनुभयो ।

भैरहवा र आसपासको क्षेत्रमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै, बुटवल र आसपासका क्षेत्रमा अनुगमनका लागि इलाका प्रशासन कार्यलयका प्रमुख कृष्णप्रसाद भण्डारी नेतृत्वमा टोली खटाइएको छ । दुबै टोलीले सक्रियताका साथ काम गरिरहेको प्रजिअ ढकालले बताउनुभयो ।

टोलीलाई आवश्यकतानुसार नमूना सङ्कलनदेखि सिलबन्दी गर्ने सम्मको अधिकार दिइएको छ ।

भारतको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण बजारमा खाद्यान्नसहितका अत्यावश्यक वस्तुको अभाव देखिन थालेपछि प्रशासनले व्यवसायीमाथि निगरानी बढाएको हो । पहिलो चरणमा दुबै टोलीले बजारमा अभाव देखिएका वस्तुहरुलाई प्राथमिकतामा राखेर अनुगमन गरिरहेका छन् । उनीहरुले ग्यासलाई पहिलो प्राथमिकतामा राख्दै विभिन्न ग्यास डिपोहरुमा अनुगमन गरिरहेका छन् । रासस