काठमाडौं, २८ असोज । आईएमई तथा ग्लोबल आईएमई बैंकले ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्जवल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा विहीबार सार्वजनिक गरेको हो ।
नतिजा सार्वजनिक कार्यक्रममा आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र ढकाल, छात्रवृत्ति छनोट समितिका संयोजक डा स्वागत श्रेष्ठ, हिसानका सचिव बुद्धि पुडासैनी, आईएमईका कार्यकारी निर्देशक हेमराज ढकाल (रामु), ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली एवम् आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्र ढकालले मानिसको आधारभूत क्षेत्र शिक्षामा हिसान र प्याब्सनसँग मिलेर काम गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो भने हिसानका सचिव बुद्धि पुडासैनीले आईएमई ग्रुप अफ कम्पनीको यस कार्यलाई अनुकरण गर्ने कार्यको शुरुआत भएको जानकारी दिनुभयो । असार २० गतेदेखि लागू भएर साउन मसान्तसम्म आह्वान गरिएको उक्त योजनामा देशभरबाट प्राप्त २०६० आवेदनमध्ये १८४७ सदर आवेदन थिए । प्राप्त सदर आवेदन मध्येबाट कक्षा १ देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न, जेहेन्दार, भूकम्प प्रभावित एवं दुर्गम जिल्ला, प्राप्त प्रतिशत, पारिवारिक आर्थिक पृष्ठभूमि, अध्यनरत कक्षा तथा मेहनतका आधारमा एक सय विधार्थीलाई एक शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट यो छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृतिका लागि आएका आवेदनलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक, हिसान तथा प्याब्सनका उच्चपदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले मापदण्डअनुसार छानेर अन्तिम नतिजा प्रकाशन गरेको हो । बैशाख १२ मा गएको विनाशकारी महाभूकम्प र त्यसबाट उत्पन्न पराकम्पनबाट प्रभावित विद्यार्थीहरु उक्त छात्रवृत्तिबाट लाभाम्वित भएको आइएमई गु्रपले महशुस गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा छात्रवृति योजना ल्याइएको आइएमई ग्रुपका राजु पौडेल जानकारी दिनुभयो ।
















प्रतिक्रिया