काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् । तर, तीन प्रतिस्पर्धी मध्ये हालका अध्यक्ष शेष घलेलाई हराउन एउटा समूह सक्रिय भएर लागेको छ ।
काठमाडौंमा सुरु भएको सातौँ अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष घलेका साथै उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिनुभएको छ । झा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोका उम्मेदवार हुनुहुन्छ ।
यसपटक महताले झाका पक्षमा खुलेर मत माग्नुभएको छ । पूर्व अध्यक्ष महतो र जिवा लामिछाने झा पक्षमा देखिएपनि वर्तमान अध्यक्ष शेष घले नै बलियो देखिनुहुन्छ।
घलेलाई पराजित गराउन महतोले झालाई अध्यक्षमा उम्मेदवारी दिन लगाउनुभएको हो । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै एनआरएनएका संस्थापक अध्यक्ष महतोले घुमाउरो भाषामा रतनकुमार झाको उम्मेदवारीमा आफ्नो समर्थन रहेको बताउनुभयो ।
‘मेरा लागि सबै उम्मेदवार बराबर हुन्’, महतोले भन्नुभयो, ‘प्रतिस्प्रधा गर्न पाइन्छ । यसलाई अन्यथा लिनु हुँदैन ।’
यसअघि संस्थापक अध्यक्ष महतोले एनआरएनएको अध्यक्षमा सर्वसम्मत हुनुपर्ने भन्दै लविङ गर्नुहुन्थ्यो । तर यसपटक उहाँले अध्यक्षमा घलेलाई रोक्न झालाई उम्मेदवार बनाउनु भएको आरोप लागेको आएको छ ।
अध्यक्ष घलेले आफ्नो कार्यकालमा उत्कृष्ठ काम गर्न नसकेको असन्तुष्ट समुहको आरोप छ । नेपालभित्र लगानी भित्र्याउन नसकेको, नेपालीहरूको पीरमर्का नबुझेको, विदेशमा दुःख पाएका नेपालीहरूलाई सहायता नगरेको, भूकम्पका नाममा राजनीति गरेको आदि आक्षेप असन्तुष्ट पक्षले लगाएको हो ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिनुभएको छ ।
महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ । एनआरएनएको निर्वाचन आज दिउँसो १ बजे निर्वाचन हुनेछ ।
‘शेष घलेको विकल्प छैन्’
एनआरएन अध्यक्षका प्रत्यासी टिबी कार्की र रतन झाले आक्रमक तयारी गरेपनि वर्तमान अध्यक्ष अध्यक्ष शेष घले नै बलियो देखिनुभएको छ । एनआरएन भवन निर्माण र भूकम्पपछि राहत वितरणमा उहाँले लिएको नेतृत्वदायी भुमिकाका कारण घले नै बलियो देखिनुभएको हो ।
उहाँलाई जिताउनका लागि विभिन्न पार्टीका नेताहरु समेत सक्रिय हुनुभएको छ । यद्यपी चुनाव जित्नेमा घले ढुक्क हुनुहुन्छ । सफल नेतृत्वदायी भूमिकाका लागि थप एक कार्यकाल एनआरएनको नेतृत्व दिन सम्पूर्ण समर्थकलाई घलेले आग्रह गर्नुभएको छ ।












प्रतिक्रिया