काठमाडौं, २८ असोज । सत्तारुढ दल एकीकृत माओवादीमा सांसद नभएका र वरिष्ठ नेताहरूले मन्त्री बन्न अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनीसहित धम्की दिएको खुलेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा मन्त्रिपरिषद चार दिनसम्म विस्तार हुन नसक्नुलाई एकीकृत माओवादीभित्रको आन्तरिक विवादलाई जिम्मेवार ठानिएको छ । मन्त्री छान्ने नसकेको विषयमा एमाले पनि अछुतो छैन ।
एमालेमा पनि मन्त्री बन्ने धेरै आकंक्षी भएपछि ओलीलाई समस्या परेको छ ।
एमालेभित्र राम्रा मन्त्रालय पाउने होडवाजी र प्रतिस्प्रधाका कराण मन्त्रिमण्डल विस्तारमा समस्या आएको जनाइएको छ ।
एमाओवादीका नेताद्वय नन्दकिशोर पुन ‘पासाङ’ र चन्द्रप्रसाद खनाल ‘बलदेव’ले आफूहरूलाई सांसद बनाइ मन्त्री बनाउन दबाव दिएका हुन् ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एकीकृत माओवादीका कोषाध्यक्ष तथा कृषिमन्त्री हरिबोल गजुरेलले ‘पासाङ’ र ‘बलदेव’ मन्त्री बन्न इच्छा जनाएको बताउनुभयो ।
‘पासाङ र बलदेव जीले मन्त्री बन्न खोज्नु भएको छ’, उहाँले भन्नुभयो, ‘दुबै जना सांसद हुनुहुन्न । सांसद कसरी बनाउन सकिन्छ भनेर कानुनी र संवैधानिक बाटोको खोजी भएको छ । उहाँहरू राजनीतिक रुपमा पीडित हुनुहुन्छ ।’
‘पासाङ’ र ‘बलदेव’ले ओली नेतृत्वको अहिलेको सरकारमा मन्त्री बनाउनुपर्ने भन्दै चेतावनीका साथ अध्यक्ष दाहाललाई दबाव दिने गरेका छन् ।
उता, उपप्रधानमन्त्रीसहित गृह मन्त्री बन्ने विषयमा पनि एमाओवादीका बिवाद देखिएको छ । महासचिव कृष्णबहादुर महराले यस पटक गृहमन्त्रीमा दाबी गर्नुभएको छ । उहाँलाई अबरोध गर्ने गरेर टोपबहादुर रायमाझीले पनि दाबी गर्नुभएको छ ।
महरा र रायमाझीलाई पछ्याउँदै अध्यक्ष दाहालका निकटका नेता शक्ति बस्नेतले पनि गृहमन्त्रीमा मुख मिठ्याउनु भएको छ । कृषिमन्त्री गजुरेलले महरा, रायमाझी र बस्नेतले गृहमन्त्रीमा दाबी गर्नुभएको स्वीकार गर्नुभयो ।
त्यसै गरी सार्वजनिक लेखा समितिका सभापति रहनुभएका एमाओवादीका नेता जनार्दश शर्माले पनि मन्त्री बन्न अध्यक्ष दाहाललाई दबाव दिनुभएको छ । उहाँले आफूलाई यस पटक मन्त्री नबनाए पार्टी परत्याग गर्नेसम्मको चेतावनी दिएको स्रोतले जनाएको छ ।
‘जनादर्शन शर्मा प्रभारले पनि मन्त्री बन्ने इच्छा देखाउनुभएको छ’, कृषिमन्त्री गजुरेलले भन्नुभयो, ‘उहाँका विषयमा पनि पार्टीमा छलफल भएको छ ।’ प्रभाकर यसअघि शान्ति मन्त्री भएर जिम्मेवारी सम्हाली सक्नुभएको छ ।
यसैबीच, एमाओवादीले आज मन्त्रीहरूको टुङ्गो लगाउने भएको छ । मन्त्रीका साथै सभामुखमा कसलाई उम्मेदवार बनाउने विषयमा पनि निर्णय गर्ने एक नेताले बताए । स्रोतका अनुसार गिरिराजमणि पोखरेललाई सभामुख बनाउने तयारी भएको छ ।












प्रतिक्रिया