काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको आज साँझ अन्त्येष्टि गरिएको छ ।
वैदिक हिन्दू परम्पराअनुसार उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमा भएको हो । अन्त्येष्टिका क्रममा गुरुङका छोरा अभिषेकले दागबत्ती दिनुभएको थियो ।
गुरुङलाई श्रद्धाञ्जलि दिन सभामुख सुवास नेम्बाङ, नेकपा (माले)का महासचिव सिपी मैनाली, राजनीतिज्ञ विश्वबन्धु थापा, नेपाली काँग्रेसका नेता पूर्णबहादुर खडकालगायत नेता आर्यघाटमा पुग्नुभएको थियो ।
पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाइदिनुभएको थियो भने पार्टीका पदाधिकारी, कार्यकर्ता, आफन्तजनको सहभागिता थियो ।
उहाँको यही असोज १६ गते राति उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएकामा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
पार्टीका संस्थापक नेता, महामन्त्री, पूर्वसंसदीय दलका नेता गुरुङको पार्थिव शरीरलाई विमानस्थलबाट धुम्रबाराहीस्थित पार्टी कार्यालयमा शवयात्रा गरी श्रद्धाञ्जलिका लागि राखिएको थियो । रासस















प्रतिक्रिया