२२ कार्तिक २०८३, आइतबार

‘नाकाबन्दी गर्दैमा नेपालीले स्वाभिमान बेच्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanalकाठमाडौँ, २३ असोज । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानको कार्यान्वयनसँगै मुलुकलाई नवनिर्माण र आर्थिक क्रान्तिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपालीहरूको महान् चाड वडादसैँ–२०७२ को अवसरमा नेपाल युथ सोसाइटीद्वारा यहाँ आज आयोजित ‘सामाजिक सद्भाव र एकता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया, सम्मान तथा बृहत् सांस्कृतिक समारोहमा वरिष्ठ नेता खनालले करिब ६५ वर्षअघिको नेपालीको चाहना नयाँ संविधानले पूरा गरेको अवस्थामा वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गरी विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

“कुनै मुलुकले नाकाबन्दी गर्दैमा नेपालीले स्वाभिमान बेच्दैन, बरु आफ्नै मुलुकको स्रोतसाधन प्रयोग गरेर आत्मनिर्भरतातर्फ केन्द्रित हुनेछ” – उहाँले भन्नुभयो । नेपालले भारतसँग सधैँभरि मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको हुँदा जतिसक्दो चाँडो नाकाबन्दी खोलेर सम्बन्धलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

वरिष्ठ नेता खनालले नयाँ संविधानको कार्यान्वयन, नाकाबन्दी र भूकम्पले निम्त्याएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्नका लागि एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्न लागिएको समेत बताउनुभयो ।