२२ कार्तिक २०८३, आइतबार

मधेसी मोर्चाका ३६ भोट कसले पाउँछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi Morcha Meetingकाठमाडौं, २३ असोज । बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन हुने अवस्थामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३६ मत निर्णायक हुने देखिएको छ ।

नयाँ सरकारको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरेका छन् । एमालेबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका उम्मेदवार हुन् भने कांग्रेसबाट सभापति सुशील कोइराला उम्मेदवार हुन् ।

ओली प्रधानमन्त्री बन्नका लागि एमालेले अहिलेसम्म आफूसँग बहुमत रहेको दाबी गरेको छ भने कांग्रेसले आफूसँग बहुमत रहेको दाबी गरेको छ । यस्तो अवस्थामा मधेसवादी दलको मत निर्णायक हुने देखिएको हो ।
एमाओवादी, राप्रपा नेपाल, राप्रपा, साना वामपन्थी दलहरुले एमालेलाई समर्थन गरेको अवस्थामा पनि मधेसवादी दलसँग रहेका झण्डै ५० मत छन् । जसले बहुमतमा प्रत्यक्ष महत्व राख्छ ।

तर यो मत कसले पाउने भन्ने कुरा अहिलेसम्म औपचारिक रुपमा टुङ्गो लाग्न सकेको छैन् । तर, मधेसी मोर्चाका आवद्ध पाँच दलले कांग्रेसलाई नै समर्थन गर्ने मनस्थिती बनाएको स्रोतको दाबी छ ।

यद्यपी मोर्चाले नयाँ सरकारमा कसलाई सहयोग गर्ने भन्नेबारे आइतबार मात्रै निर्णय गर्ने जनाएको छ । मधेसी मोर्चाका प्रमुख नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनबारे भोलि बस्ने बैठकले टुङ्गो लगाउने बताए । ‘भोलि बिहान मोर्चामा आवद्ध दलहरुको बैठक सकिएर मोर्चाको बैठक बसेपछि कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गर्छौं’ यादवले भने ।

मोर्चामा रहेका ५ दलका ३६ जना सांसद रहेका छन् । संघीय समाजवादी फोरम नेपाल (१५), तराई मधेस लोकतान्त्रिक पार्टी (११), सदभावना पार्टी (६), सदभावना पार्टी नेपाल(३) र मधेस समता पार्टीका (१) जना सांसद छन् ।

स्रोतका अनुसार भारतले केपी ओलीलाई प्रधानमन्त्री बनाउन नचाहेको र सुशीललाई जसरी पनि प्रधानमन्त्री बनाउने नीतिअनुसार मधेसी मोर्चासँग आवद्ध दलहरुले कांग्रेसकै पक्षमा मतदान गर्ने बुझिएको छ । ओलीलाई समर्थन नगर्न भारतीय राजदूतावासले समेत मोर्चाका नेतालाई सचेत गराइसकेको स्रोतको दाबी छ । यस्तो अवस्थामा मधेसी मोर्चाले कांग्रेसलाई नै समर्थन गर्ने सम्भावना प्रबल छ । उसो त कांग्रेसका केही नेताले पनि मधेसी मोर्चाले सुशीलाई नै सहयोग गर्ने दाबी गरेका छन् ।

विजय कुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि सरकारमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय गरेको छैन् । गच्छदार मोर्चासँग १५ भोट रहेको बताइन्छ । यता भारतीय राजदूतावासले स्वतन्त्र सभासदलाई ५० लाख रुपैयाँ दिएर ओलीलाई हराउन चलखेल सुरु गरिसकेको स्रोतको दाबी छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।