३० आश्विन २०८३, शुक्रबार

झापामा रमाएका बोकेदाह्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लक्ष्मी काफ्ले/झापा

Boku-3‘ए बा किन्देउ न भटभटे’
एकदशक अघि यो कमेडी गीत र यसका गायक श्रीकृष्ण लुइटेल एकैसाथ हिट भए । गीतले जति लोकप्रियता कमायो, त्यतिनै श्रीकृष्णले पनि । एक समय यस्तो थियो, बालकदेखि वृद्धसम्म सबैको जिब्रोमा ‘ए बा किन्देउ न भट्भटे’ झुन्डिएको थियो । यी गीतका कारण उनको लोकप्रियताले शिखर चुम्यो । श्रीकृष्ण नेपाली साङ्गीतिक आकाशमा नयाँ शैलीमा प्रस्तुत भए । उनले पालेको दाह्री अनि कमेडी गीतकै कारण सबैले उनलाई ‘बोकेदाह्री’ भनेर चिन्न थाले ।

Boku-1‘बोकेदाह्री’ एल्बमको त्यही चर्चित गीत ‘ए बा किन्देउ न भटभटे’ जुन गीतले उनलाई यहाँसम्म ल्याइपुर्यायो, त्यो गीत वास्तवमा उनले ‘कामचलाउ’का लागि एल्बममा राखेका थिए । ‘साली कमला…बिमला त पोइल गई दोकान सम्हाल’ उनले आशा गरेको गीत यो थियो । ‘तर, भइदियो ठीक उल्टो,’ उनी भन्छन्, ‘एल्बमका लागि सातवटा मात्र गीत भएकाले आठ पुर्याउनलाई मैले ए बा किन्देउ न भटभटे थपेको थिएँ ।’

कुराकानीका क्रममा श्रीकृष्ण पुराना दिनतर्फ फर्किए । उनी मोरङको अमरदहमा हुर्किएका हुन् । उनी स्कूल पढ्दादेखि नै गीत गाउँथे । उनलाई पढाउने निर्मल सरले गीत गाउन लगाइरहन्थे । त्यतिबेला श्रीकृष्णले सरलाई सुनाउने गीत थियो– ‘धेरै दिन भो तिम्रो झझल्को…।’ अमरदह, तरहरा, इटहरी हुँदै मोरङको सुकुना क्याम्पसबाट बीएड उत्तीर्ण गरेका श्रीकृष्ण त्यसपछि भने गायक बन्ने सपना बोकेर काठमाडौँ छिरेका थिए ।

सुरुवाति दिनमा धेरै सङ्घर्ष गरेका श्रीकृष्णले वीर हस्पिटलमा धेरै रात काटेका छन् । राति १० बजेपछि घरबेटीले गेटभित्र पस्न नदिँदा उनी हिँडेर वीर हस्पिटलसम्म पुग्थे । ‘वीर हस्पिटलले मलाई धेरै सुतायो,’ उनी भन्छन्, ‘सुरक्षागार्डले सोधखोज गर्दा ४ नम्बरमा मेरो बिरामी छ भनिदिन्थेँ ।’ काठमाडौँमा श्रीकृष्णसँग पैसा, खानेकुरा हुँदेनथियो । त्यसबेला उनी साथीको कोठामा जान्थे । खाना खाइसकेपछि सबै भाँडा श्रीकृष्णले नै सफा गरिदिन्थे । ती दिनमा फर्किँदा उनी रमाइलो मान्छन् ।

काठमाडौँ पुगेर उनी नेपाली चलचित्रहरुका लागि गीत लेख्न थाले । उनले लेखेको पहिलो गीत ‘इटहरीको बजारैमा ओ माया र्याक नगर’ हो । मनै त हो, त्रिवेणी लगायत थुप्रै चलचित्रका लागि गीत लेखेका उनलाई यो पाटो खासै मजा लागेन । त्यसपछि उनले चलचित्रका लागि गीत लेख्न छाडिदिए । चलचित्रका लागि गीत लेखिदिएर कमाएको अलिकति पैसा बोकेर उनी आफ्नै गीत रेकर्ड गर्न डील्लीबजारको ओम् मेघा डिजिटल स्टुडियो पुगे । ‘सुन है साथी मेरो कहानी, मलाई नि आयो झिल्के जवानी’ उनले गाएको पहिलो कमेडी गीत हो यो ।

Boku-2११ वर्षसम्म काठमाडौँमा दुःख गर्दा पनि ‘हात लाग्यो शुन्य’ भएपछि उनी  पूर्वतिर आएका थिए त्यसबेला । ‘काठमाडौँमा केही नुहुने रहेछ, म बस्दिनँ काठमाडौँ भनेर पूर्व आएर गरेको हो बोकेदाह्री एल्बम पनि,’ उनी सुनाउँछन, ‘यसैले मलाई यहाँसम्म ल्यायो ।’ तर, कुनै कम्पनीले लिन नमानेपछि श्रीकृष्णले यमन म्यूजिकलाई एल्वम फ्याँकेर हिँडेका थिए । उनले फ्याँकेको त्यही एल्वम सर्वाधिक चर्चामा आयो ।

‘अहिले नेपालमा म कमेडी कलाकार हुँ भन्नेहरुभन्दा पहिले नै मैले काम गरेको हुँ’ उनले भने । नेपालमा कमेडी गीतको छुट्टै स्थान छ । त्यसमा बोकेदाह्री एकछत्र राज गरिरहेका छन् । तर बोकेदाह्री काठमाडौँमा छैनन् । पछिल्लो समय उनी झापामा रमाउँदैछन् । उनलाई झापाको माया छ । उनी झापा छोडेर बाहिर जानै सक्दैनन् । झापाका साथीले उनलाई ‘बोकु’ भनेर बोलाउँछन् । बोकेदाह्री, बोकु लगायतका नामले बोलाउँदा उनी खुसी हुन्छन्

‘बोकेदाह्री झापामा लुकेर बस्यो’ पनि भन्छन् उनलाई । तर उनको तर्क बेग्लै छ । यताका कुरा काठमाडौ लगेर सबैलाई देखाउने/सुनाउने उनको चाहना छ । ‘यहाँ बारीमा, भिरमा फूल्ने फूल काठमाडौँमा गमलामा फुल्छ । फूलको अस्तित्व त यहाँ छ नि,’ उनी भन्छन्, ‘मैले काठमाडौँ छोड्को होइन, काठमाडौँले चाहिँ मलाई छोडेको हो ।’ उनी काम पर्दामात्र काठ्माडौँ आइजाई गर्छन् ।

गीतमार्फत गाली गर्न पाउँदा श्रीकृष्ण आनन्द मान्छन् । उनलाई गीतमार्फत गाली गर्न रामाइलो लाग्छ । भन्छन्, ‘गतिलो झापड हान्न पाइन्छ गीतबाट, कुट्नै पाइन्छ ।’ गत वर्ष उनले बजारमा ल्याएको एल्बम ‘ओए बिम्ली’ भित्रको एउटा गीत विवादमा आयो । नेपालका केही मिडियाले ‘पागल बनायो नारान पापी फेसबुकले’ बोलको गीतलाई प्रतिबन्ध नै लगाए । तरपनि त्यही गीत चर्चित भयो । ‘बाँके बर्दिया’ बोलको गीत पनि अहिले उत्तिकै चर्चामा छ ।

दाह्री नै श्रीकृष्णको एकमात्र सम्पति हो । ‘दाह्री नहुनु भनेको म नै नहुनु जत्तिकै हो,’ उनी भन्छन्, ‘म चाहिँ लागेँ है विदेशमा काम गर्न भन्नु र मेरो दाह्री काट्नु एउटै कुरो हो ।’