काठमाडौं, २० असोज । सरकारी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका वार्ता टोलीवीच आज दोस्रो पटक वार्ता हुँदैछ ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा साढे एघार बजेपछि हुने वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ ।
मधेसी मोर्चाको वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आफूहरू मुलुकको अवस्थाबाट गम्भीर रहेको भन्दै सकेसम्म आजै सहमति होस् भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले राज्यले अलिकत लचकताका साथ अगाडि बढेर सहमति गर्ने हो भने समग्र मुलुकले निकास पाउने बताउनुभयो ।
‘हामी पनि यो मुलुकप्रति चिन्तित छौँ’, कर्णले भन्नुभयो, ‘आजको वार्तामा हाम्रो तर्फबाट हुन सक्ने लचकताका साथ प्रस्तुत हुनेछौँ ।’
राजधानी काठमाडौंको मात्रै समस्या देख्ने प्रवृत्तिले सहमति हुन नसकेको बताउनुभएका नेता कर्णले आफूहरूका माग मंगलबार सरकारी पक्षलाई बुझाएको बताउनुभयो ।
नाकाबन्दीसहितका कार्यक्रम गर्दै आएको मधेसी मोर्चाको आन्दोलनले मुलुकको जनजीवन कष्टकर बनेको छ । सहमति भएपछि मात्रै नाकाबन्दी र आमहड्ताल फिर्ता लिने मधेसी मोर्चाको भनाइ छ ।












प्रतिक्रिया