३० आश्विन २०८३, शुक्रबार

ओली प्रधानमन्त्री बन्ने सम्भावना बढ्यो, कुन–कुन दलको समर्थन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

– कमलराज भट्ट

काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ ।

राष्ट्रपति डा. रामवरण यादवबाट नयाँ सरकार गठनको आह्वान भएसँगै सुरु भएको सरकार गठनको प्रक्रियामा अधिकांश दल ओलीलाई नै प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छन् । प्रमुख दल नेपाली कांग्रेसले समर्थन नगरेको अवस्थामा पनि ओली बहुमतमै प्रधानमन्त्री बन्ने आँकडा तयार भएको छ ।

नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन गठन गरेको वार्ता समितिका अनुसार कांग्रेसले समर्थन नगरेको अवस्थामा पनि एमालेले बहुमतको सरकार बनाउने सम्भावना बढी छ । काँग्रेस र एमाओवादीसहितको सहभागितामा सरकार बनाउने एजेण्डामा यदि कांग्रेसले साथ नदिए बहुमतमै सरकार बनाउन एमालेले साना दलसँग बहुमत जुटाइरहेको छ । मंगलबारसम्मको आँकडा अनुसार एमालेले प्रधानमन्त्रीका लागि चाहिने मत आफ्नो पक्षमा पारिसकेको छ ।

नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले आफूहरु तीनै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने पक्षमा रहेको बताए । उनले भने– ‘सहमतिमै सरकार बनाउने हाम्रो पहिलो एजेण्डा हो । कांग्रेस सरकारमा आउँछ त्यसमा दुई मत छैन् । यदि कांग्रेसले साथ दिएन भने बहुमतमै एमालेले सरकार बनाउँछ ।’

उनका अनुसार कांग्रेसले साथ नदिएको खण्डमा ओलीलाई प्रधानमन्त्री बनाउन एमालेसँग बहुमत सम्भव छ । हाल व्यवस्थापिका संसदमा ५९८ सभासद छन् । जसमध्ये प्रधानमन्त्री हुनका लागि २ सय ९९ सांसदहरुको मत चाहिन्छ ।
एमालेको वार्ता समितिका अनुसार मंगलबारसम्म ३०२ सांसद ओलीको समर्थनमा उभिएका छन्, जसले ओली प्रधानमन्त्रीमा चुनिने बोलियो सम्भावना छ ।

ओलीको समर्थनमा को–को ?

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा चुनिन ११६ मतको आवश्यकता छ । १८३ मत एमालेसँगै छ । यो दुबै जोड्दा २९९ मत हुन आउँछ जुन ओलीलाई प्रधानमन्त्रीमा चुन्ने मत हो ।

वार्ता समितिका अनुसार मंगलबारको मितिसम्म एमालेले आवश्यक ११६ मतभन्दा ३ मत बढीले ११९ मत आफ्नो समर्थनमा पाएको छ । अब एमालेसँग आवश्यक २९९ बाट बढेर ३०२ मत पुगेको छ । यो अवस्थामा ओली बहुमतले प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । अहिलेसम्म कांग्रेस बाहेक एमाओवादी(८३), राप्रपा(१२), नेकपा माले(५), नेमकिपा(४) राष्ट्रिय जनमोर्चा (३), नेकपा संयुक्त (३), परिवार दल (२), जनमुक्ति पार्टी लोकतान्त्रिक (२), समाजवादी पार्टी (१), मधेस समता पार्टी (१), अखण्ड नेपाल पार्टी (१), नेपाली जनता दल (१), बहुजन समाज पार्टी (१) र दलित जनजाति पार्टी (१) मत ओलीको पक्षमा रहेको छ । त्यसबाहेक १–१ सीट भएका नेपाः पार्टी र खम्बुवान पार्टीले एमालेतिरै आउने संकेत दिएपछि टुंगो लाग्न बाँकी छ । यसबाहेक केही साना मधेसवादी दल र आदिवासी जनजाति दलहरुले समेत ओलीलाई साथ दिन तयार देखिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै वामपन्थी दल ओलीको पक्षमा छन् । यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सरकारमा आउन चाहन्छन् । ओलीलाई मौन समर्थन पनि जनाइसकेका छन् । तर पार्टीका नेताको दबाबका कारण उनी चाहेर पनि सहयोग गर्न सकिरहेका छैनन् । यदि मधेस समस्या समाधान भएमा गच्छदारको समर्थन ओलीलाई नै हुनेछ ।

ओलीलाई समर्थन किन ?

एमाले अध्यक्ष ओलीलाई राष्ट्रप्रेमी नेता भनिन्छ । संविधान निर्माणको क्रममा ओलीको अडान, चट्टानी भाषण, कार्यशैलीबाट थुप्रै पार्टीका नेता प्रभावित छन् । ओली जातियता र वर्ग विभेदका कट्टर विरोधी हुन् । उनले आफ्नो पार्टीमा अनुशासन पनि कायम गराएका छन् । सबैलाई तह लगाउन(मिलाउन) सक्ने क्षमता पनि ओलीमा रहेको बताइन्छ । ओलीबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रभावित छन् । उनी सार्वजनिक कार्यक्रममै ओलीको प्रशंसा गर्छन् । सार्वजनिक कार्यक्रममै संविधान कार्यान्वयन गर्न ओली सक्षम रहेको प्रचण्डले भन्दै आएका छन् । त्यही भएर एमाओवादीले ओलीलाई समर्थन गरी प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो ।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले ओलीमा राष्ट्रिय भावना रहेको र संविधान कार्यान्वयन गर्न सक्ने क्षमता भएकाले एमालेको नेतृत्वमा बन्ने सरकारलाई आफ्नो पार्टीको समर्थन रहने जनाए । दैनिक नेपालसँग केसीले भने– ‘ओलीमा देशभक्तिको भावना छ, साथै देशलाई प्रगतिशील बाटोमा डो¥याउने क्षमता छ ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सभासद विक्रम पाण्डेले आफूहरुको समर्थन ओलीलाई रहने बताए । उनले भने– ‘ओलीमा झट्टै दम छ, जसले परिवर्तन साकार हुन सक्छ । त्यसैले यसपटक केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा राप्रपा उभिएको छ ।’ यता संविधानसभाको चौथो दल कमल थापा नेतृत्वको राप्रपा नेपालले अहिलेको अवस्थामा कसैलाई समर्थन गरिसकेको छैन् ।

राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले अहिलेको अबस्थामा राप्रपा नेपालले कसैलाई समर्थन गरि नसकेको र प्रतिपक्षमा बस्ने तयारीमा रहेको बताए । उनले भने– ‘यदि प्रमुख तीन दलसहितको सरकार बन्ने अवस्था आयो भने हामी प्रमुख प्रतिपक्षीको भुमिकामा हुन्छौं । कांग्रेस र एमालेमध्ये एउटा प्रतिपक्षमा रहने अवस्था आएमा राप्रपा नेपालको समर्थन सरकारमा जानेतिर हुनेछ ।’