काठमाडौँ, १९ असोज । प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री कोइराला आज अपराह्न वीर अस्पताल पुगी तराई–मधेस र थरुहट–थारूवान् आन्दोलनका क्रममा घाइते भएका बिरामीसँग भेटी स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराउनुभयो ।
उहाँले आन्दोलनका क्रममा विभिन्न स्थानमा घाइते हुनुभएका बिरामी, उहाँहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकसँग भेटघाट गरी उपचारमा कुनै जटिलता उत्पन्न वा अप्ठेरो महसूस भएमा तुरुन्तै आफूलाई खबर गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले समस्याको शान्तिपूर्ण समाधानका लागि सरकारले वार्ताटोली बनाएर आन्दोलनकारी राजनीतिक दलसँग संवादको प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले घाइते बिरामीको उपचार र उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकबाट पनि जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले आन्दोलनबाट घाइते भएकाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका सम्बन्धित चिकित्सकलाई निर्देशन पनि दिनुभएको थियो ।
सो अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, गृहसचिव सूर्य सिलवाल, स्वास्थ्य तथा जनसङ्ख्या सचिव शान्तबहादुर श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो । रासस
















प्रतिक्रिया