काठमाडौं, १९ असोज । एक महिना अमेरिकाको एउटा टापुमा निधन भएका विश्वकै होँचा व्यक्ति दाङ निवासी चन्द्रबहादुर डाँगीको आज काठमाडौंमा सरकारी सम्मानका साथ अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज दिउँसो आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले चन्द्रबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ सरकारी सम्मान प्रदान गर्नुभएको हो ।
उहाँले त्यस क्रममा प्रधानमन्त्री सुशील कोइराला श्रद्धाञ्जलि कार्यक्रममा आउने भनिएपनि राजनीतिक र सरकारी व्यस्तताका कारण आउन नसकेको भन्दै चन्द्रबहादुर डाँगीले नेपालको नाम विश्वमा चिनाउन मद्दत गरेको बताउनुभयो ।
चन्द्रबहादुर डाँगीको अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा दाङबाट प्रतिनिधित्व गर्ने सांसद अनिता देवकोटा, दीपक गिरी, पार्वती डिसी चौधरी, कांग्रेसका नेता बमबहादुर डिसीसहित सयौँको संख्यामा उपस्थित सर्वसाधारणले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
अन्तिम श्रद्धाञ्जलिपछि चन्द्रबहादुर डाँगीको पार्थिव शरीरलाई आजै काठमाडौंबाट अन्त्यष्टिका लागि जन्मस्थान सल्यान जिल्ला प्रस्थान गराइएको छ । उहाँलाई सल्यानको कालीमाटीस्थित शारदा नदीमा दाहासंस्कार गरिनेछ ।
















प्रतिक्रिया