– दशरथ घिमिरे
दाङ, १९ असोज । एमाओवादी त्यागेर देश दौडाहामा निस्केका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठित गरी नयाँ राजनीतिक दल बनाउने योजना रहेको खुलासा गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखले आयोजना गरेको साक्षात्कारमा भट्टराईले संमृद्ध नयाँ नेपाल निर्माण गर्ने यो बेलामा नयाँ ठंगले भुमिका निर्वाह गर्न नयाँ शक्तिको आवश्यकता औल्याउनुभयो ।
उहाँले नयाँ राजनीतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताउँदै नयाँ शक्तिको स्वरुप संगठित राजनीतिक शक्ति हुने स्पष्ट पार्नुभयो । ‘संविधान सभावाट संविधान बनाउने र एउटा राजनीतिक परिवर्तनको प्रक्रिया पुरा गर्ने हाम्रो अभियान पुरा भएको छ, एक युग समापन भएको छ’ उहाँले भन्नुभयो-‘अब हामी आर्थिक विकास र सम्वृद्धि हुदै समुन्नत नयाँ नेपाल निर्माण गर्ने नयाँ युगमा प्रवेश गर्दैछौं ।’
भट्टराईले आफूलाई कैलाली जानबाट कसैले रोक्न नसक्ने भन्दै जसरी भएपनि कैलालीका थारु समुदायसँग आफू भेट्न जाने बताउनुभयो । ‘म स्वतन्त्र नागरिक हुँ मलाई किन प्रतिबन्ध लगाइयो ?’ उहाँले भन्नुभयो ‘कैलालीमा म जसरी भएपनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो ।’ सुरक्षा दिन नसक्ने भन्दै कैलाली जिल्ला प्रशासनले उहाँलाई कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो । भट्राई बुधबार कैलाली जाँदैछन् ।
भट्टराईले थारुहरुले गरिरहेको आन्दोलन जायज रहेको बताउनुभयो । ‘थारुहरुले आन्दोलन गरेका छन् त्यसलाई जायज मान्छु, संविधान संशोधन गरेर माग पुरा गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘ढुंगामा लेखिएको अक्षर त होईन संविधान, संशोधन गरेर जनताको माग पुरा गर्नुपर्छ ।’
भट्टराईले भारतले गरेको नाकाबन्दी र आफ्नो पार्टी परित्यागको कुनै साईनो नरहेको दाबी गर्नुभयो । ‘भारतले नाकावन्दी ग¥यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ, अन्तर्राष्ट्रिय पारवहन सन्धीको घोर उल्लंघन गरेको छ’ उहाँले भन्नुभयो–‘नेपालप्रति चाँही थिचो मिचो छ अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटकै मनासीव छैन् ।’
















प्रतिक्रिया