रत्ननगर (चितवन), १९ असोज । चितवनको सौराहामा भएको चरा विज्ञको पाँचदिने राष्ट्रिय कार्यशाला गोष्ठीले नेपालमा १७० प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।
यसअघि १४९ प्रजातिका चरा सङ्कटमा रहेको पाइएकामा अहिले थप २१ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको निष्कर्ष निकालिएको हो । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विँडारीले नेपालका चरामध्ये करिब २१ प्रतिशत चरा खतरामा रहेको पाइएको जानकारी दिनुभयो ।
हिमालयन नेचर, जिओलोजिकल सोसाइटी अफ लण्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा असोज १४ गतेदेखि पाँचदिने गोष्ठी सुरु भएको थियो । सन् २०१२ पछि यो पहिलो गोष्ठी भएको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो समयमा चराको अवस्था के छ, कुन चरा सङ्कटमा छन्, कुन कुन क्षेत्रमा चराको अवस्था राम्रो छ, कुन क्षेत्रमा छैन, सङ्कटमा पर्नुका कारणलगायत विषयमा छलफल भएको डा बरालले जानकारी दिनुभयो ।
एक महिनाभित्रमा सङ्कटापन्न अवस्थामा रहेका चराको विस्तृत विवरणसहितको पुस्तक तयार पार्ने गरी भेला सकिएको चरा विज्ञ राजु आचार्यले जानकारी दिनुभयो । गोष्ठीमा सङ्कटापन्न ६६ प्रजातिका चराको विषयमा करिब तीन हजार सन्दर्भ सामग्री सङ्कलन गरेर छलफल भएको थियो ।
हाल विश्वमा नौ हजार प्रजातिका चरा छन् । नेपालमा ८७५ र चितवनमा ६२९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । मुख्यगरी सीमसार क्षेत्र, घाँसे मैदानमा पाइने चराका साथै अन्य विभिन्न प्रजातिका चराको विषयमा विज्ञबीच छलफल भएको विज्ञ आचार्यले जानकारी दिनुभयो ।
नेपालमा लामो समयदेखि चराको अध्ययन गर्दै र किताब लेख्दै आउनुभएका बेलायतका क्यारोल र टिम इन्स्कीपको समेत कार्यक्रममा सहभागिता थियो । निकुञ्ज विभागले गोष्ठीबाट संरक्षण रणनीति बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । रासस















प्रतिक्रिया