
काठमाडौं, १८ असोज । प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको खुलासा भएको छ ।
राष्ट्रपति रामवरण यादवबाट सात दिनभित्र सरकार गठनका लागि आह्वान भएपछि भद्र सहमति भएको कुरा थाहा नभएको दाबी गर्दै आएको कांग्रेसकै सामू सोमबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा संविधान निर्माणपछि सरकारको नेतृत्व एमालेलाई नै सहमति भएको खुलेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले भद्र सहमति बारे बारम्बार प्रश्न गरेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दल(विजय गच्छदार र बाबुराम भट्टराईको सहभागितामा)बीच एमालेलाई नै नेतृत्व दिने सहमति भएको खुलासा गरेको बैठकमा सहभागी एक नेताले बताए ।
प्रचण्डले भद्र सहमति अनुसार अबको प्रधानमन्त्री ओली नै हुनुपर्ने भन्दै त्यसमा प्रधानमन्त्री कोइराला पनि प्रतिवद्ध रहेको बताएका थिए । प्रधानमन्त्री कोइरालाले आफू फेरि प्रधानमन्त्री हुन खोजेको भन्ने समाचार हल्ला मात्रै भएको बताए ।
बैठकमा साना दलका नेताहरुले कुर्सीका लागि झगडा नगर्न र तीन ठूला दलमिलेर सरकार बनाउन सुझाव दिएको ती नेताले दैनिक नेपाललाई जानकारी दिए ।












प्रतिक्रिया