२१ कार्तिक २०८३, शनिबार

‘नाकाबन्दी खोल्न भारतसँग कुरा गरौँ, प्रधानमन्त्री एमालेलाई दिउँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarbadaliya-Meeting-Baluwat
काठमाडौं, १८ असोज । संसदमा प्रतिनिधित्व गर्ने साना दलहरुले प्रमुख तीन दललाई संविधान जारी गर्नुभन्दा पहिले भएको सहमतिअनुसार अगाडि बढ्न सुझाव दिएका छन् । संविधान जारी हुनुभन्दा पहिले तीन दलहरुवीच भएको भद्र सहमतिअनुसार अगाडि बढ्न सुझाव दिएका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल र साना १५ दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सर्वदलीय बैठकमा यस्तो सुझाव दिएका हुन् ।

संविधान जारी हुनु पूर्व सहमति भएको भए सोहीअनुसार अगाडि बढ्नु पर्ने र सहमति नभएको भए नयाँ सिराबाट सहमति गरेर अगाडि बढ्न जोड दिएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

संविधान जारी गर्दा तीन दलहरुवीच देखिएको एकताकालाई दीर्घकालसम्म पुराउनुपर्ने भन्दै साना दलहरुले त्यसको लागि सहमतिलाई नतोड्न सुझाव दिए ।

‘सर्वदलीय बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी गर्नु पूर्व तीन दलहरुवीच भद्र सहमति भएको जानकारी दिनुभएको छ । संविधान जारी गर्नु पूर्व हामी तीन दलहरुवीच १६ बुँदे सहमति भएको थियो, अब पनि सोही सहमतिअनुसार अगाडि बढ्नुपर्छ’, अध्यक्ष पुष्पकमल दाहालको भनाइ उदृत गर्दै श्रेष्ठले भन्नुभयो ।

संविधान जारी भएपछि देखिएको समस्यालाई तीन दल मिलेर समाधान गर्नुपर्ने साना दलहरुले सुझाव दिएको एमाले महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।

संविधानको विषयलाई लिएर भारतले गरेको नाकाबन्दी खुलाउन भारतसँग कुटनीतिक पहल गर्नुपर्ने र तराईमा जारी आन्दोलनका विषयमा आन्दोलनरत दलहरुसँग वार्ता र संम्वादको माध्यमबाट समस्याको समाधान गर्नमा साना दलहरुले जोडदिएको पोखरेलले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मिडियामा आएजस्तो अब पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्ने भन्ने कुरा गलत भएको उल्लेख गर्नुभयो ।

सरकारको नेतृत्वका विषयमा आफूहरुले पार्टीभित्र छलफल गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री कोइरालाले सहमतिमै सरकार बनाउनमा कांग्रेस दृढ रहेको बताउनुभएको थियो ।

सर्वदलीय बैठकमा साना दलहरुले दिएको सुझावका आधारमा अगाडि बढ्ने प्रमुख तीन दलहरुका नेताहरुले बताएका थिए । उनीहरुले अहिले संविधान जारी भइसकेको अवस्थामा संविधान कार्यान्वयन गर्न समेत सबैको सहकार्य रहनेभएकोले सहमतिकै आधारमा अगाडि बढ्ने बताएका थिए ।