– मोहन विष्ट
बेलौरी (कञ्चनपुर), १८ असोज । कञ्चनपुरको महेन्द्रनगर–झोलुङ्गेपुल सडकखण्ड कालोपत्रको माग राख्दै अनिश्चितकालीन सडक बन्द गरिएको छ । आज बिहानैदेखि स्थानीयवासीले सडकमा ढुङ्गामुढा राखी सवारीसाधन आवतजावत पूर्णरुपमा बन्द गरेका हुन् ।
महेन्द्रनगर–झोलुङ्गेपुल कालोपत्र सङ्घर्ष समितिका अध्यक्ष दुर्गादत्त भट्टले सडक सुधार नभएर यस क्षेत्रका पर्यटकीय क्षेत्र र स्थानीयवासीलाई समस्या परेकाले आन्दोलन थालिएको बताउनुभयो ।
सडकको स्तरोन्नति र कालोपत्रको माग गर्दै विगत लामो समयदेखि पटकपटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।
सदरमुकाम महेन्द्रनगरदेखि मझगाउँ विमानस्थल हुँदै झोलुङ्गे पुलसम्म जाने र महाकालीपारिको दोधारा चाँदनी नगरपालिकालाई सदरमुकाम जोड्ने एक मात्र १३ किलोमिटर सडकको स्तरोन्नति नहुँदा समस्या सिर्जना भएको हो ।
पर्यटकीय क्षेत्र शुक्लाफाँटा आरक्ष र झोलुङ्गेपुल अवलोकनकर्ता सवार तथा महाकाली नदीबाट नदीजन्य वस्तु ओसार्ने सवारीसाधन चल्दा सडकबाट उड्ने धुलो धुँवाले सडक छेउछाउ बस्ने बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको जनाउँदै सङ्घर्ष समितिले माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने दृढता प्रकट गरेको छ ।
गत वर्ष पनि स्थानीयवासीले सडक बन्द गरेका थिए । सडक कार्यालय कञ्चनपुरले भने बजेट अभावको कारण देखाउँदै सडक कालोपत्र हुन नसकेको जनाएको छ । रासस















प्रतिक्रिया