काठमाडौ, १७ असोज । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोली भारतीय जनता पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा नभएको स्पष्ट पार्दै नेपालमा कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपालका राजनीतिक दलहरुको विषय भएको बताए ।
नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने– ओलीजी लोकतान्त्रिक नेता हुनुहुन्छ । उहाँले लोकतन्त्रको लागि धेरै त्याग र दुःख भोग्नु भएको छ । उहाँ नेपालको प्रधानमन्त्री हुँदा हामीलाई कुनै आपत्ति छैन । भारतीय जनता पार्टीले ओलीजीको विरोध गर्ने कुरा नसोच्नुस । म उहाँलाई शुभकामना दिन चाहन्छु ।
जोलीले आफ्नो नेपाल भ्रमणको क्रममा ओलीसँग डेढ घण्टा कुरा गरेको स्मरण गर्दै ओली नेपाल भारत सम्बन्ध बढाउने विषयमा प्रष्ट रहेको पाएको बताए । उनले भने– नेपालमा सरकारको नेतृत्व जसले गरे पनि हुन्छ । बर्तमान प्रधानमन्त्री सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई जसले गरेपनि हुन्छ । हामीलाई त्यसमा कुनै आपत्ति छैन ।
जोलीले नेपालमा भारत विरोधी कुनै पनि गतिविधी नगर्न सचेत गराउँदै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतको झण्डा जलाउँदा आफूहरु दुःखी भएको बताए । उनले नेपाल र भारतबीचको सम्बन्धमा कुनै समस्या नहुने र अगाडि बढ्ने विश्वास ब्यक्त गर्दै भारत विरोधी गतिविधी हुन नदिने र सम्बन्ध विगार्ने तत्वबाट होसियार हुनुपर्ने धारणा राखे ।
काग्रेस आईका प्रवक्ता शक्ति सिंह गोहिलले नेपालमा संविधानसभाले जारी गरेको संविधानमा आफ्नो पार्टीको सर्मथन रहेको स्पष्ट पारेका छन । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने–संविधान नेपालको लागि बनाएको हो । त्यसमा हाम्रो सहयोग र समर्थन रहनेछ ।

सिंहले नेपालको आन्तरिक मामिलामा हाम्रो हस्तक्षेपको नीति नभएको भन्दै भारत सरकारले के गर्यो त्यो उसैले भन्ने कुरा भएकोले आफूहरुको धारणा नेपाललाई सहयोग गर्र्नुपर्छ भन्ने मात्रै रहेको बताए ।
नेपालमा पछिल्लो समयमा विकसित घटना क्रमप्रति चिन्ता ब्यक्त गर्दै उनले परिस्थितिलाई सहज बनाएर दुई मुलुकवीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने धारणा राखे ।
जनता दल यूनाईटेडका अध्यक्ष सरद यादवले आफूहरुले पहिलादेखि नै नेपालमा छिटो संविधान आउनुपर्छ भनि भन्दै आएकोले त्यसमा आफूहरुको समर्थन रहेको स्पष्ट पार्दै असन्तुष्ट मधेसी दलहरुको कुरा पनि संविधानमा समेट्नु पर्ने सुझाव दिए ।
उनले दुई मुलुकको सम्बन्धमा पछिल्लो समयमा आएको अवरोध कसैको पनि हितमा नभएको भन्दै त्यसलाई मिलाएर सम्बन्धलाईअझै प्रगाढ बनाउनु पर्ने सुझाव दिए ।















प्रतिक्रिया