२१ कार्तिक २०८३, शनिबार

कट्टीपुर घटनाः जसले प्रथम भएको खुसी साट्न नपाउँदै ज्यान गुमाए (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दीपक ओली
कट्टीपुर (कैलाली), १६ असोज । ‘आमा, म फस्ट भएँ भन्दै आयो । निधारमा रातो टीका पनि थियो । आफ्नै कामको व्यस्तताले मैले खासै वास्ता गरिनँ । एक छिनपछि घरबाट निस्कियो,’ बालक सुशान्त सुनारकी आमा कमलाले भनिन्, ‘दोहोरो कुरा गर्न नपाइकन नै सदाका लागि गयो ।’

सुशान्त शुक्रबार विद्यालयबाट प्रथम त्रैमासिक परीक्षाको नतिजा लिएर आएका थिए । २ कक्षामा अध्ययनरत सुशान्त विद्यालयको प्रकाशित नतिजाअनुसार प्रथम भएका थिए ।

‘विद्यालयमा अध्ययनरत ५ सय ८० जना विद्यार्थीमध्ये सुशान्त एकदमै मिहिनेती, अनुशासित र सबैको प्यारो थियो,’ सुशान्त अध्ययनरत बालकन्या निमाविका सहायक प्रधानाध्यापक भूमिप्रसाद जोशीले भने, ‘तर सुशान्तसँगै बालकन्यामा अध्ययनरत पाँचजनाको ढिस्कोमा पुरिएर मृत्यु हुन पुग्यो ।’

Kailali-child-death (1)
नाति नातिनी सँगै अर्धचेतमा रहेकी बृद्धा ओमकलालाई सान्तवना दिँदै छिमेकीहरु ।

कैलालीको दोदोधरा गाविस–७ कट्टीपुरमा शुक्रबार साँझ भएको घटनामा सुशान्तसहित ६ जना बालबालिकाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएपछि कट्टीपुर अहिले शोकमा डुबेको छ । घटनामा सुशान्तकी बहिनी सुस्मिताको पनि मृत्यु भएको छ । उनी एक कक्षामा अध्ययनरत थिइन् ।

सो घटनामा १० वर्षीया सीता प्याकुरेल, उनका भाइ ६ वर्षीय दीपक प्याकुरेल, सात वर्षीय किरण सुनार र ६ वर्षीया नमिना न्यौपानेको पनि मृत्यु भएको थियो । नमिना स्थानीय दशन सनराइज स्कुलमा एलकेजीमा अध्ययरत थिइन् भने अन्य पाँचजना स्थानीय बालकन्या निमाविमा शिशु कक्षादेखि ३ कक्षासम्म अध्ययनरत थिए ।

घटनामा दुई नातिनातिना गुमाएकी ६० वर्षीया ओमकला प्याकुरेलको होस राम्रोसँग खुल्न सकेको छैन । नौ महिनाअघि श्रीमान् गुमाएकाले बर्खीमा बसेकी उनलाई अहिले अर्काे वज्रपात आइलागेको छ । ओमकला सहाराविहीन चार नातिनातिना पालेर बसेकी थिइन् । ओमकला दुई दिनदेखि केही नखाई रोएर मात्र बसेकी छन् । उनी घरी मुर्छित त घरी होसमा आउँछिन् ।

‘चार नातिनातिनाको स्याहारसुसार गर्दै आएकी वृद्धा ओमकलालाई यतिबेला मर्नु न बाच्नुभएको छ,’ छिमेकी तुल्सा कार्कीले भनिन्, ‘दुई वर्षअघि बुहारीको (सीता र दीपककी आमा) मृत्यु र त्यसपछि श्रीमानको मृत्युको घाउ सेलाउन नपाउँदै फेरि अर्को घटना आइलाग्यो ।’
‘श्रीमतीको मृत्युपछि ओमकलाको छोरा रंग प्याकुरेलले चार छोराछोरीलाई उनको जिम्मा छोडी अर्की केटी लिएर भारततिर गएको छ,’ तुल्साले भनिन्,’ ‘सहाराविहीन ओमकलाले अर्काको काम गरेर उनीहरूको लालनपालन गर्ने गर्थिन् । तर, नातिनातिना गुमाउँदा उनको होसहवासै उडेको छ ।’

सीता र दीपकसँगै माटो ल्याउन ओमकलाकी माहिली नातिनी अप्सरा पनि गएकी थिइन् । अप्सरा बाँच्न सफल भइन् । उनलाई सामान्य चोट लागेको छ । अब ओमकलासँग जेठो नाति गणेश र अप्सरा मात्र रहेका छन् । घटनापछि कट्टीपुरका प्रायः घरमा दुई दिनदेखि चुलो बलेको छैन । सबैका आँखामा देखिन्छ त केबल आँसु मात्र ।

Kailali-child-death (5)
अर्धचेत अवस्थामा रहेकी मृतक बालिका नमिना न्यौपानेकी आमा रानीपुरा सहित शोकाकुल छिमेकी ।

माटोमा पुरिएर मृत्यु भएका ६ जना बालबालिका दुईजना अधबैंसे महिलासँग घरबाट झन्डै ३ सय मिटरको दुरीमा दसैंका लागि घर पोत्ने माटो ल्याउन भनेर गएका थिए । तर, फरुवाले माटो कोर्ने क्रममा ढिस्को खस्न गई उनीहरूको मृत्यु हुन पुग्यो ।

‘घटनाबारे अझै विश्वास गर्न सकेको छैन,’ शनिबार घटनास्थलमा भेटिएका सहायक प्रधानाध्यापक भूमिप्रसादले भने, ‘मृतक सबै बालबालिका निम्न वर्गीय समुदायका हुन् ।’

दसैंका लागि घर पोत्ने माटो लिन भनेर उनीहरूसहित १० जना गएका थिए । त्यसमध्ये ३५ वर्षीया जमुना खतिवडा र ३० वर्षीया रत्ना खतिवडा सख्त घाइते भएका छन् । बालिका अप्सरा प्याकुरेल र आशा सुनारलाई सामान्य चोट लागेको छ ।

घटनास्थलनजिकै घर भएकी सरिता नेपालीले भनिन्- ‘जतिबेला पनि माटोको ढिस्को खस्न सक्छ माटो नकोर्नुस् भन्दा उल्टै सरकारी माटो त हो, तँलाई किन खसखस भनेर हप्काए । आफ्नै अगाडि त्यत्रो घटना देख्दा डरले घरमा सुत्न नसकेर बालबच्चासहित अर्काको घरमा बसेकी छु ।’

Kailali-child-death (4)
प्रथम भएको मृतक सुशान्त सुनारकी आमा कमलालाई सान्तवना दिँदै सीविनका माधब लोहनी लगायत ।

घाइते जमुना स्थानीय कैपाल स्कुलकी शिक्षिका हुन् । उनी आठ महिनाकी गर्भवतीसमेत छिन् । जमुना र रत्नाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शनिबार धनगढीस्थित सीविन–नेपालको टोलीले घटनास्थलको स्थलगत अनुगमन गरेको थियो । टोलीमा खटिएका सीविन–नेपाल धनगढीका संयोजक माधब लोहनीले घटनाको प्रकृति हेर्दा सुरुदेखिनै सबैले लापरवाही गरेको बताए ।

उनले घरनजिकै त्यत्रो माटोको ढिस्को देख्दादेख्दै अबोध बालबालिकाहरुलाई त्यसरी छोड्नु थिएन् । अझै ध्यान दिएन भने अर्को घटना घट्नसक्ने भएकाले त्यहाँ माटो खन्न बन्द गरी तत्काल घेरबार लगाउनुपर्ने अवस्था रहेको बताए ।

संयोजक लोहनीले घटनामा बच्न सफल र बृद्धा ओमकलाका दुई नातिनातिनालाई शैक्षिक सामाग्रीसहित सहयोग गर्ने बताएका छन् ।

Kailali-child-death (2)
शनिबार घटनास्थलमा जम्मा भएका सर्वसाधरणहरु ।
Kailali-child-death (3)
घटनास्थलमा भेटिएका मृतकका चप्पल ।

सबै तस्बिर : दीपक ओली ।