२१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाका कारण महोत्तरीको जिल्ला अस्पतालमा बिरामी आउन छाडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahottari District Hospitalगौशाला, १७ असोज । मधेसको गाउँ सहरमा दैनिक हुने गरेका नारा, जुलुस, सडक जाम र बन्द हडतालका कार्यक्रमले गर्दा महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा केहीदिनदेखि बिरामी आउन छाडेका छन् ।

छैसट्ठी गाविस र तीन नगरपालिका रहेको महोत्तरी जिल्लाको विभिन्न गाउँ ठाउँबाट जिल्ला अस्पताल जलेश्वरमा उपचारका लागि दैनिक ३०० देखि ५०० सम्म बिरामी आउने गरेकामा अहिले पाँचदेखि १० जना मात्रै आउने गरेको सो अस्पतालले जनाएको छ ।

मधेस आन्दोलनका बेला महोत्तरीको जलेश्वरमा भदौ २३ र २५ गते एक सुरक्षाकर्मीसहित सातजना मारिएपछि जिल्लावासीमा भय र त्रास छाएको छ भने कुनै पनि बेला जलेश्वरमा हिंसा हुन सक्ने भन्दै बिरामी जलेश्वर अस्पतालमा आउन नचाहेको डा राजीव झाले बताउनुभयो ।

इमर्जेन्सी, सुत्केरी, क्षयरोग, टिभी, कालाजार, मलेरिया तथा जेनेरल ओपिडी गरी विभिन्न रोगका सयौँ बिरामीको उपचार गर्ने जलेश्वर अस्पताल अहिले १०–१२ जनालाई मात्र सेवा दिनमा सीमित भएको डा झाले बताउनुभयो ।

विगत १५/२० दिनदेखि जलेश्वर अस्पतालमा स्थानीय अस्पताल वरपरकै बिरामी उपचारका लागि आउने गरेका छन् भने जिल्लाका गाउँगाउँबाट आउने बिरामी अहिले आउन छाडेको डा सतिस साहले बताउनुभयो ।

उहाँले लामो समयदेखिको बन्दका कारण अस्पतालमा अक्सिजन र औषधि अभावसमेत सिर्जना भएकाले बिरामी यहाँ आउनुभन्दा बढी बाहिर भारततिर जान थालेको प्रष्ट पार्नुभयो ।

अहिले जिल्ला अस्पताल जलेश्वर मात्रै नभएर जिल्लाका दर्जनौँ स्वास्थ्य, उपस्वास्थ्य चौकी पनि बिरामीविहीन बनेको चिकित्सकहरु बताउँछन् ।

यता अस्पताल कम्पाउण्डमा र कम्पाउण्ड बाहिर रहेको निजी जाँचघर, रगत, दिसापिसाब जाँचघर (ल्याब) तथा चिया, बिस्कुट र औषधि पसल पनि ग्राहक नआएको भन्दै लामो समयदेखि बन्द रहेका छन् । रासस