सप्तरी, १६ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराई–मधेस बन्दका कारण सप्तरीको भारदह अस्पतालमा औषधिको अभाव भएको छ ।
जिल्लाको भारदह गाविस–१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि र इन्जेक्सनको अभाव भएको बताइएको छ । सो अस्पतालमा अत्यावश्यक औषधि, महिला प्रसूतिलाई दिइने इन्जेक्सन र जीवनजललगायत अभाव भएको अस्पताल सञ्चालक धर्मेन्द्र खड्काले बताउनुभयो ।
सो अस्पतालमा आकस्मिक सेवाका बिरामीका लागि दिइने अक्सिजनसँगै प्रसूति महिलालाई दिने अत्यावश्यक ‘ओकटोसिन’ नामक इन्जेक्सनको मौज्दात सकिएको बताइएको छ ।
दैनिक सयदेखि १५० बिरामी आउने सो अस्पतालमा अधिकांश सुत्केरी गराउनकै लागि आउने गरेको अस्पतालले जनाएको छ ।
त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत अक्सिजनलगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।
लगातार ५० दिनदेखिको बन्दले यातायातका साधन नचल्दा मौज्दात रहेको औषधिसमेत सकिएको अञ्चल अस्पतालका डा लालकिशोर सिंहले बताउनुभयो । यस्तै सदरमुकाम राजविराजको औषधि पसलमासमेत औषधि अभाव भएको पाइएको छ । रासस
















प्रतिक्रिया