काठमाडौँ, १५ असोज । नेकपा माओवादी चन्द निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भूपरिवेष्ठित मुलुक नेपालमा भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय व्यवस्था र पारवहन सन्धि विपरीत भएको जनाएको छ ।
युनियनको २०औँ सम्मेलनले पारित गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर सिंहले नाकाबन्दीको बहानामा कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गर्न माग गर्दै तातोपानी र रसुवा नाका खुलाउन युवा विद्यार्थी परिचालन गरिने बताउनुभयो ।
यही असोज १२ र १३ गते चितवनमा भएको सम्मेलनले सार्वभौम मुलुक नेपालको भूमि लिपुलेकमाथिको भारत र चीनले गरेको सम्झौता खारेजीका लागि माग गरेको छ ।
त्यसैगरी शिक्षा र चिकित्सा क्षेत्रका माफियाको कालोसूची तयार गरी कारबाही गरिने, राष्ट्रको पुँजी र विदेश पलायन गराउने परामर्शदातामाथि अनुगमन गरी कारबाही गर्न सरकारलाई दबाब दिइने विदेशी सम्बन्धन र पाठ्यक्रममा सञ्चालित शिक्षण संस्थाको खारेजीको माग गर्दै सम्मेलनले बाह्र कक्षासम्मको शिक्षालाई सम्पूर्ण रुपले निःशुल्क बनाउन सबै पक्षसँग आग्रह गरेको छ ।
सम्मेलनले सिंहका अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति चयन गरेको छ । रासस















प्रतिक्रिया