३० आश्विन २०८३, शुक्रबार

‘वडा नम्बर ६’ उपत्यका बाहिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

woda-number-6

काठमाडौं । विभिन्न हास्य कलाकारले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ आजदेखि काठमाडौँ उपत्यका बाहिर प्रदर्शन सुरु भएको छ । देशमा करिब १० वर्ष चलेको माओवादी द्वन्द्वको मार्मिक कथालाई चलचित्रमा रोचक ढङ्गले पस्किएर देखाइएको छ ।

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नीर शाह, प्रियङ्का कार्की, राजाराम पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राई आदिको अभिनय छ ।

कलाकार गिरीका अनुसार चलचित्रले उपत्यकाबाटै करिब रु ८० लाखको लगानी उठाइसकेको छ । अघोषित नाकाबन्दीका कारण तराई–मधेसका केही जिल्लामा चलचित्र नचलेको भए तापनि चलेका ठाउँमा राम्रो ‘रेस्पोन्स’ पाइरहेको उहाँ बताउनुहुन्छ ।

देशका प्रायः ठाउँमा अहिले हिन्दी चलचित्र प्रदर्शनमा छैनन् जसको प्रत्यक्ष फाइदा नेपाली चलचित्रले उठाइरहेको बताइएको छ तर निर्माता गिरी भने यो स्वीकार्न तयार हुनुहुन्न । उहाँ ठाडै इन्कार गर्दै भन्नुहुन्छ, ‘हामीले हिन्दी चलचित्रसँग ‘फाइट’ गर्नुपर्छ, डराएर भाग्ने हो भने नेपाली चलचित्र उँभो लाग्दैनन्, हाम्रो अघिल्लो चलचित्र ‘६ एकान ६’ ले सलमान खानको चलचित्र ‘जय होस्’लाई पछारेकै हो ।”

चलचित्र ‘वडा नम्बर ६’ले राम्रो व्यापार गरिरहेको यही समयमा असोज ८ गतेदेखि प्रदर्शनमा आएको राष्ट्रभक्ति कथा बोकेको चलचित्र ‘चंखे शंखे पंखे’ले पनि राम्रै दर्शक बटुलेको छ । रासस