काठमाडौं, १५ असोज । व्यवस्थापिका–संसद्को अधिवेशन आज (शुक्रबार)बाट सुरु हुने भएको छ । संविधानसभाले संविधान बनाइसकेपछि व्यवस्थापिका–संसदमा रूपान्तरण भएको संसद्को पहिलो बैठक आज १ बजे बस्दैछ ।
बैठकमा राष्ट्रपति डा. रामवरण यादवले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । संसद्को यो अधिवेशनले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको चयन गर्नेछ ।
नयाँ संविधानको व्यवस्थाअनुसारका संघीय संरचनाहरू निर्माण भइनसकेकाले रूपान्तरित संसद्ले नै संघीय व्यवस्थापिकाको समेत जिम्मेवारी पूरा गर्नुपर्नेछ ।
नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा १९६ अनुसार संविधानसभाबाट संविधान घोषणा भएपछि स्वतः व्यस्थापिका–संसदमा रूपान्तरण हुने र त्यसको कार्यकाल ०७४ माघ ७ गतेसम्म कायम हुनेछ ।
प्रधानमन्त्री निर्वाचन शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएर मार्गप्रशस्त गरेमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रियासमेत सुरु हुनेछ । सभामुख नेम्वाङले प्रधानमन्त्रीको राजीनामा आउन सक्ने बताउनुभएको छ ।
संविधानको धारा १९८ मा व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिन (२२ असोज) भित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।
संसदमा रहेका ३१ दलबीच सहमति नभएमा राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न सूचना जारी गर्नेछन् । बहुमतीय प्रक्रिया सुरु भएमा बढीमा दोस्रो चरणमा देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।
संविधानको धारा २९९ अनुसार संसद् अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । सहमति नभएमा सभामुख र उपसभामुख पनि बहुमतका आधारमा निर्वा्चित हुनेछन् ।
संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया सुरु हुनेछ ।
नेपालको संविधानको धारा १९७ (२) अनुसार सहमति नभएमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि पनि (३) अनुसार बहुमतीय प्रक्रिया सुरु हुनेछ ।












प्रतिक्रिया