१० कार्तिक २०८३, मंगलबार

वार्ता सकारात्मकः आन्दोलन रोक्ने मधेसी मोर्चाको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta-thakur

– विमल योगी

काठमाडौं, १४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारी टोलीबीच सकारात्मक वार्ता भएको छ ।

विहीबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा भएको वार्तामा सरकारी टोलीले मोर्चाका पूर्वशर्त पुरा गर्ने प्रतिबद्धता जनाएको छ । मोर्चाका पूर्व शर्तहरुमा मधेसबाट सेना फिर्ता हुनुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग सम्बोधन गर्न सरकारी टोलीले प्रतिबद्धता जनाएपछि मधेसी मोर्चाले आन्दोलन रोक्ने संकेत गरेको छ ।

यद्यपी आजको वार्तामा ठोस निष्कर्ष समेत निस्किएन् । अब सरकारले मधेसी मोर्चाका पूर्वशर्तलाई सम्बोधन गरे फटाफट वार्ता हुनसक्छ । सरकारी टोलीका सदस्य वनमन्त्री महेश आचार्यले आजको वार्ता एकदमै सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मोर्चाका पूर्वशर्त सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उहाँहरुले पनि आन्दोलन रोक्ने संकेत दिनुभएको छ । यद्यपी ठोस वार्ता हुन बाँकी छ ।’

आर्चायका अनुसार छलफलमा सरकारी टोलीले तत्काल सीमा नाकामा गरिराखेको अवरोध फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन मोर्चालाई आग्रह गरेको थियो । यस विषयमा पनि मोर्चा सकारात्मक रहेको मन्त्री आचार्यले बताउनुभयो ।

आजको वार्तामा मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर सहभागी हुनुहुन्थ्यो । सरकारी टोलीका तर्फबाट सदस्यहरु वनमन्त्री महेश आचार्य, एमाले प्रमुख सचेतक अग्नी खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो ।