२१ कार्तिक २०८३, शनिबार

शान्ता चौधरीको सकारात्मक अभियान सुरु, के-के गर्छ अभियानले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-nepal-santa-chaudhary

काठमाडौं, १४ असोज । पूर्व सभासद शान्ता चौधरीको सकारात्मक अभियान सुरु भएको छ ।

शान्ता चौधरी र सरस्वती सुब्बाको अगुवाईमा सुरु भएको अभियानले अहिले राजनीतिक परिस्थिती, उत्पन्न समस्यालाई समाधान गर्न राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराउने, वार्ता सम्वादका माध्यमबाट समाधान खोज्न सुझाव दिने कार्य गर्नेछ ।

सकारात्मक अभियानकी अगुवा शान्ता चौधरी र सरस्वती सुब्बा सहितको टोलीले विहीबार नेकपा एमालेका नेता माधवकुमार नेपाललाई अनुरोध पत्र बुझाएर अभियानको सुरुवात गरेका छन् । अनुरोध पत्रमा राजनीतिक दलका नेताहरुलाई जाति र पार्टीभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गरिएको छ ।

अभियानले अन्य दलका नेताहरुलाई पनि अनुरोधपत्र बुझाउने छ । अनुरोध पत्रमा समस्या र समाधानका उपाय, जनताको अधिकारलाई ख्याल गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरिएको छ । यसका अतिरिक्त अभियानले गाउँ गाउँमा गएर चेतना फैलाउने काम पनि गर्ने छ । त्यसका लागि प्रत्येक जिल्लामा अभियानलाई विस्तार गरिनेछ ।

यस्तो छ सकारात्मक अभियानको अनुरोध पत्र

राजनीतिक दलका नेताहरुलाई सकारात्मक अभियानको अनुरोध पत्र:

नेपालको भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता विश्वमै अतुलनीय छ । यो विविधता नेपालको सम्पत्ति हो, विपत्ति होइन । विविधतारुपी सम्पत्ति नचिनेर यसलाई विपत्तिमा परिणत गर्ने ढंगको नकारात्मक विचार समाजमा हावी हुन दिनु हुँदैन । अनेकतामा एकता खोज्नुको बदला अनेकता भित्र वैमनस्यता फैलाउने प्रयत्नले कसैको हित गर्दैन ।

समस्या विहिन कुनै पनि देश तथा समाज हुन सक्दैन । नेपाल पनि अनेक समस्याले ग्रस्त छ । कतिपय समस्याका आयामलाई अनावश्यक रुपमा बढाउने गल्ती विगतमा हामीले गरेका थियौं । नकारात्मक विचार प्रवाह गर्ने कार्यमा हामीले धेरै समय व्यतित गरेका छौं । नकारात्मक विचार तथा निराशामा डुबेको देश तथा समाजले प्रगति गर्न सक्दैन । नेपाल र नेपालीका समस्या अनेक छन्, तर, हामीले आशावादी हुनुपर्ने कारण र आधार पनि यथेष्ट छन् । नेपाल सम्भावनाहरुको खानी हो, यसलाई हामीले उजागर गर्नुपर्ने समय आएको छ । विश्वमा एउटा प्रतिष्ठित र विकसित मुलुकका रुपमा उदाउनका लागि हामीसँग पर्याप्त प्राकृतिक, भौगोलिक र मानव संशाधन छ । हामीसँग लोकतन्त्रको लामो अभ्याश छ, असहमति बीच पनि सहमति खोज्न सक्ने राजनीतिक नेतृत्व छ, सचेत र जागरुक जनता छन्, हामीसँग अनुभव छ । सबैभन्दा मुख्य कुरा हामीसँग देशलाई अगाडि बढाऔं भन्ने उत्कट चाहना छ, इच्छा छ । इच्छाशक्तिले नै देश बन्छ ।

अब बेला आएको छ– जनतामा सकारात्मक सन्देश फैलाऔं, आशा र उत्साह जगाऔं, एकता र सदभाव बढाऔं । सबैले आआफ्नो जातिय समुदायप्रति गर्व गरौं, अन्य समुदायको सम्मान गरौं । आआफ्नो भाषा संस्कृति र परम्परागत असल रितीरिवाजको संरक्षण गरौं । आआफ्नो राजनीतिक दलको लोकतान्त्रिकरणमा योगदान गरौं । राजनीतिक दललाई विकासको संवाहक र देशको स्वयंसेवक बनाऔं । जब देश र समाजको कुरा आउँछ, जब सामूहिक र सामुदायिक विषय आउँछ– जाति र पार्टीभन्दा माथि उठौं । म होइन हामी भनौं । बहुमत स्वीकार गरौं, फरक मतको सम्मान गरौं । हिंसालाई प्रोत्साहन नगरौं, मानवताको उपासना गरौं । आवेग होइन, विवेक प्रयोग गरौं । बहस गरौं, विवाद नगरौं । आलोचना गरौं, आरोप नलगाऔं । त्रुटि औंल्याऔं, खोट नदेखाऔं । माग गरौं, असम्भव माग नगरौं । आवाज उठाऔं, आक्रोश नदेखाऔं । समाधान देखाऔं, समस्या आविष्कार नगरौं ।

सकारात्मक अभियानका मान्यताहरु यिनै हुन् । यिनै मान्यताहरुमा आधारित भएर हामी देशको नेतृत्व वर्गसँग निम्न अपेक्षा गर्दछौं:

१) वार्ता र संवादको माध्यमबाट जस्तोसुकै समस्या समाधान हुनसक्छ । तराईमा आन्दोलन गरिरहेका विभिन्न पक्षसँग वार्ता र संवादका लागि इमानदार पहल गरियोस् ।
२) कुनै पनि पक्षसँगको वार्तामा इमानदार बन्नुहोस्, तत्कालीन समस्या टार्नका लागि भविष्यमा पूरा गर्न नसकिने आश्वाशन दिने प्रवृत्ति अन्त्य गरियोस्, कार्यान्वयन गर्न नसकिने सहमति गरेर भविष्यका लागि समस्या सिर्जना नगरियोस् । जनताको बास्तविक चाहना पहिचान गरेर मात्र सहमति गरियोस् ।
२) देशको समस्यामा विदेशीको भूमिका नखोज्नुहोस् । आन्तरिक समस्यामा छिमेकी देशलाई अनावश्यक रुपमा तान्ने काम नगर्नुहोस् । नाकावन्दीको अवस्था तत्काल हटाउन विश्व समुदायसँग सहयोग माग्दै मित्र राष्ट्र भारतसँग विश्वाशको बातावरण बनाउनुहोस् ।
३) छिमेकी तथा अन्य मित्र राष्ट्रहरुसँग सम्बन्ध बिग्रने कुनै पनि अभिव्यक्ति नदिनुहोस् । पञ्चशीलको मान्यतामा अडिग भएर राष्ट्रिय हित र स्वाभिमानका आधारमा मित्र राष्ट्रहरुसँग सम्बन्ध अभिवृद्धि गरियोस् ।
४) संविधानको कार्यान्वयनमा इमानदार बन्नुहोस् । संविधान संशोधनमा लचिलो हुनुहोस् तर संशोधनका नाममा जनताका अधिकार कटौति गर्ने कुनै पनि काम नगर्नुहोस् ।

यसका साथै हामी निम्न सुझाव पनि दिन चाहन्छौं
१) संविधानको किताब सर्वसुलभ बनाइयोस् । गाउँगाउँमा संविधान निशुल्क वितरण गर्ने व्यवस्था मिलाइयोस् ।
२) संविधानमा जनताले पाएका अधिकार सम्बन्धमा भ्रम सिर्जना भइरहेको छ । जनताले पाएका अधिकार प्रचारको कार्य प्रभावकारी ढंगले गरियोस् ।
३) यो संविधान लचिलो छ, यसलाई संशोधन गरेर जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरियोस् ।
४) भारतसँग विश्वाशपूर्ण सम्बन्ध स्थापित गर्न कूटनीतिक पहल गरियोस् । आगामी दिनमा नाकावन्दी नहुने प्रतिवद्धता माग गरियोस् ।
५) नाकावन्दीले हामी समस्यामा परेका छौं तर नाकावन्दी हटेपछि पनि हाम्रा समस्या समाधान हुँदैन भन्ने तथ्य मनन गरेर देशलाई आत्मनिर्भर बनाउने, आन्तरिक उत्पादन बढाउने कार्ययोजना ल्याइयोस् ।
६) पर्यावरणको कारणले पनि पेट्रोलियम पदार्थ प्रयोग न्यूनीकरण गर्न आवश्यक छ । वैकल्पिक उर्जा उत्पादन तथा प्रवद्र्धनका लागि राष्ट्रिय अभियान चलाइयोस् ।
७) समावेसीकरण वर्तमान संविधानबाट जनताले पाएको ठूलो उपहार हो । समावेसीकरणलाई वर्गीय आधारमा पनि कार्यान्वयन गर्ने कार्ययोजना निर्माण गरियोस् ।
८) हिंसा र घृणालाई प्रोत्साहन दिने तथा सद्भाव विथोल्ने कुनै अभिव्यक्ति नदिनुहोस् । जनताप्रति उत्तरदायी र जवाफदेही बन्नुहोस् ।
९) संविधान र कानुनको मन, वचन र कर्मले पालना गर्नुहोस् र दण्डहिनताको अन्त्य गर्नुहोस् ।
१०) असहमत विचारलाई सम्मान र कदर गर्नुहोस् ।

सकारात्मक अभियानको तर्फबाट
शान्ता चौधरी
सरस्वती सुब्बा