काठमाडौं, १४ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै समाधान हुने दावी गर्नुभएको छ ।
आज राजधानीमा सकारात्मक अभियानको अनुरोध पत्र ग्रहण गर्दै नेता नेपालले आन्दोलनरत पक्ष यथाशीघ्र वार्ता र समाधानका लागि तयार हुनुपर्ने बताउनुभयो । समाधानका लागि आफूहरु पर्याप्त लचिलो भएको भन्दै उहाँले चाँडै सहमति भएर निकास निकाल्न आफूहरु लागिरहेको बताउनुभयो ।
सकारात्मक अभियानकी अगुवा शान्ता चौधरी र सरस्वती सुब्बा सहितको टोलीले नेता नेपाललाई अनुरोध पत्र बुझाएको हो । अनुरोध पत्रमा राजनीतिक दलका नेताहरुलाई जाति र पार्टीभन्दा माथि उठेर देशका लागि सोच्न आग्रह गरिएको छ ।
नेता नेपालले भन्नुभयो–‘अहिले देश अप्ठेरो अवस्थामा रहेको छ । यो अवस्थामा आन्दोलनकारी दलहरुले पनि जिम्मेवार व्यवहार प्रस्तुत गर्नुपर्छ, उहाँहरुले जनतालाई दुख दिने काम गर्न हुन्न । देशलाई अप्ठ्यारोमा पारेर आन्दोलन अगाडि बढाउनु जायज छैन ।’
अभियानले अन्य दलका नेताहरुलाई पनि अनुरोधपत्र बुझाउने भएको छ । नेता नेपालले अनुरोध पत्र ग्रहण गर्दै समाजलाई यस किसिमको सकारात्मक अभियानको आवश्यकता रहेको बताउनुभयो । पार्टी र जातिभन्दा माथि उठेर देश सोच्ने अभियानलाई गाउँगाउँसम्म पुराउन उहाँले आग्रह गर्नुभयो ।
सबै पक्षले लचिलो भएर सहमति खोज्नुपर्ने धारणा नेता नेपालले राख्नुभयो । नयाँ संविधानले सबै जाति, वर्ग र समुदायलाई अधिकार दिएको बताउँदै उहाँले संविधानले दिएको अधिकारबारे जनतालाई बुझाउने काममा सकारात्मक अभियानले योगदान गरोस भन्नुभयो ।












प्रतिक्रिया