काठमाडौँ, १४ असोज । भूकम्प प्रतिरोधात्मक, कम ऊर्जा खपत हुने र वातावरणमैत्री सुधारिएको इँटा उद्योग स्थापना गर्न सकिने प्रविधिको विकास भएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), नेपाल इँटा उद्योग महासङ्घ र मिनर्जी प्रालिको संयुक्त प्रयासमा सुधारिएको उद्योग संरचनाको विकास गरिएको हो ।
हालैको विनाशकारी भूकम्पले अधिकांश इँटा उद्योग क्षतिग्रस्त गरेपछि आगामी दिनमा इँटा उद्योगलाई भूकम्प प्रतिरोधी, कम ऊर्जाबाट पनि सञ्चालन गर्न सकिने र वातावरणमैत्री उद्योग स्थापना गर्न अनुसन्धान गरी डिजाइन तयार गरिएको यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
सुधारिएको इँटा उद्योग संरचनासम्बन्धी डिजाइन पुस्तिकाको विमोचन गर्दै उद्योग मन्त्री महेश बस्नेतले सरकार जनस्वास्थ्य र वातावरणमैत्री विकासप्रति सचेत रहँदै जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारप्रति गम्भीर रहेको उल्लेख गर्नुभयो ।
उहाँले भूकम्पपछि नयाँ संरचनाहरु निर्माण गर्न ठूलो परिणाममा इँटा आवश्यक पर्ने भएकाले अब इँटा व्यवसायीले निर्माण गर्ने कुनै पनि उद्योग वातावरण अनुकूल र दिगो हुनुपर्ने धारणा राख्नुभयो ।
इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले सुधारिएको इँटा भट्टाले नेपालका इँटा उद्योगमा कोइलाको खपतमा ३० प्रतिशतले कमी आउने र यसबाट काठमाडौँ उपत्यका र हिमाली क्षेत्रको वायु प्रदूषणमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल इँटा व्यवसायी महासङ्घका अध्यक्ष महेन्द्र चित्रकारले हालैको भूकम्पबाट काठमाडौँ उपत्यकाका ११० इटा उद्योगमध्ये १०५ वटा पूर्ण र आंशिक रुपमा क्षति भएकाले उनीहरुलाई नयाँ प्रविधियुक्त बनाउन सरकारले अनुदान तथा सहुलियतपूर्ण ऋण सुविधा दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा मिनर्जी इनर्जीका सुयस प्रजापतिले सुधारिएको इँटा उद्योगबाट ती वर्षमै लागत उठ्न सक्ने, वातावरण संरक्षण र ऊर्जा बचत हुने, उद्योगको सुरक्षा हुने भएकाले आगामी दिनमा सबै इँटा उद्योगहरुले यस प्रविधिमा जानुपर्नेमा जोड दिनुभयो ।
हाल नेपालमा रहेका ८०० वटा इँटा उद्योगमध्ये काठमाडौँ उपत्यकामा मात्र ११० उद्योग रहेका छन् । रासस















प्रतिक्रिया