काठमाडौं, १४ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शंकर पोखरेलले यथाशिघ्र चिनियाँ नाका खोल्नुपर्ने बताउनुभएको छ ।
विहीबार चिनियाँ नाका खोल्न जाने एमाले विद्यार्थी स्वयमसेवक टोलीलाई विदाई गर्दै नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गर्नुभयो ।
पोखरेलले भन्नुभयो – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्दछु ।”















प्रतिक्रिया