काठमाडौं, १४ असोज । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारत र नरेन्द्र मोदीलाई गाली गरेर नेपालको समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि कुटनीतिक पहल हुनुपर्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा मन्त्री रिजालले भन्नुभयो, ‘भारत र नरेन्द्र मोदीलाई लागी गरेर केही हुँदैन । सबैले संयमता अपनाउनु पर्छ ।’
‘भारतविरोधी अभियानका रुपपमा भारतलाई हेर्नु हुँदैन । मोदी पहिलो पटक आउँदा सद्भाव प्रदर्शित भयो । सम्मान थियो । त्यसलाई कायम राख्नुपर्छ’, मन्त्री रिजालले अगाडि भन्नुभयो, ‘भारतमा पनि नेपालको विरोध हुँनु हुँदैन । नेपालमा भारतको विरोध गर्नु हुँदैन ।’
भारतीय टिभी च्यानलहरू बन्द भएका विषयमा व्यवसायीहरूसँग सोधिएको स्पष्टीकरणलाई लिएर आफूले अत्याधिक गाली खाएको बताउनुभएका मन्त्री रिजालले भन्नुभयो, ‘कतै हिन्दी च्यान बन्द गर्ने, कतै नेपाली च्यानल बन्द गर्ने कुरा राम्रो होइन । कुन च्यान हेर्ने हो त्यो नेपाली जनता आफैले रोज्न पाउनुपर्छ ।’
उहाँले नेपालमा भारतविरोधी प्रदशन गरे मुलुकलाई असर पर्ने उल्लेख गर्नुभयो । मन्त्री रिजालले दलहरूलाई भारतविरोधी प्रदर्शनमा आफ्ना भातृ संगठनलाई परिचालन नगर्न चेतावनी दिनुभएको छ ।
मन्त्री रिजालले नेपालप्रति भारतमा अत्यन्तै ठूलो सद्भाव रहेको दाबी गर्नुभयो ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतले नाकाबन्दी लगाएर अन्तर्राष्ट्रि सन्धि र कानुनको उल्लंघन गरेकाले नेपालमा भारतको विरोध भएको बताउनुभयो । उहाँले आफूहरू भारत विरोधी नरहेको भन्दै भारतविरुद्ध नेपाली जनताले स्वस्फूर्त प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले भारतीय पक्षले लगाएको अषोषित नाकाबन्दीले नेपाललाई भन्दा पनि भारतीयलाई नै असर पर्ने बताउनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदय त्रिपाठीले भारतलाई नाकाबन्दी लगाएको भनेर जवरजस्ती तान्न खोजेको आरोप लगाउनुभयो । ‘नाकाबन्दी हामीले लगाएका हौँ’, उहाँले भन्नुभयो, ‘भारतलाई जवरजस्त तान्ने प्रयास भएको छ ।’
सरकारसँग वार्ता सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएका तमलोपा नेता त्रिपाठीले आज हुने वार्ताले निकास दिन सक्नेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।
नेता त्रिपाठीले अंगिकृत नागरिकता लिएकालाई पनि राज्यका ठूला पदमा जान पाउने अधिकार रहनुपर्ने माग गर्नुभयो । उहाँले पहिलादेखि त्यो व्यवस्था रहेको दाबी गर्दै त्रिपाठीले अंगिकृत नागरिकता लिएकालाई केही उचित व्यवस्था गर्नुपर्ने आफूहरूको मागरहेको उल्लेख गर्नुभएको छ ।












प्रतिक्रिया