
काठमाडौँ, १३ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १५८औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
सो अवसरमा गृहमन्त्री गौतमले जनताप्रति उत्तरदायी प्रहरी निर्माण गर्नुपर्ने बताउँदै कुशल नेतृत्व क्षमतायुक्त प्रहरी आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले नयाँ संविधान निर्माणपछि सुरक्षा निकायले थप चुनौतीको सामना गर्नुपरिरहेको उल्लेख गर्नु भयो । सो अवसरमा उहाँले उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकलाई पुरस्कार वितरणसमेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दीक्षित प्रशिक्षार्थीको प्रशिक्षण सकिए पनि परीक्षण सुरु भएको बताउँदै जनताको गुनासा पोख्ने प्रथम संयन्त्र प्रहरी भएकाले नयाँ सम्भावना र चुनौतीको सामना गर्नका लागि तयार हुन प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो ।
गत २०७१ वैशाख ३ गतेबाट सञ्चालन भएको उक्त तालिममा १३६ जना प्रहरी निरीक्षक सहभागी रहेकोमा चार जना प्रशिक्षार्थी विभिन्न कारणले पछि तालिममा समावेश हुने गरी फिर्ता भएका थिए ।
प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु कमल बेलबासे सर्वप्रथम, रञ्जन अवा द्धितीय, विकास बम तृतीय हुनुभएको थियो भने अध्ययनमा प्रथम कमलराज पण्डित, कवाज प्रथम हरिहर सुनुवार, शारीरिक व्यायामतर्फ नवीन श्रेष्ठ, प्रहरी युक्ति तथा कारबाही प्रथम जनार्दन घिमिरे र चाँदमारी प्रथम लक्ष्मण ओली हुनुभएको थियो । रासस
















प्रतिक्रिया