काठमाडौं, १३ असोज । एमाले निकट युवा संघ नेपालको नयाँ नेतृत्वका लागि उपाध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
अध्यक्ष केपी ओली निकट मानिनुहुने ढकालले आज (बुधबार) काठमाडौंमा केही पत्रकारसँगको भेटघाटका क्रममा अध्यक्ष पदमा आफ्नो दाबी गर्नुभएको हो । युवा संघको दुई पटकसम्म कार्यबाहक अध्यक्ष भइ जिम्मेवारी लिइसकेको बताउनुभएका ढकालले भन्नुभयो, ‘उमेर हद, सांगठनिक अनुभव आदिका कारण मैले अध्यक्ष पदको जिम्मेवारी लिन उम्मेदवारी घोषणा गरेको छु ।’
एमाले अध्यक्ष ओली र युवा संघ नेपालका निवर्तमान अध्यक्ष महेश बस्नेतले आफ्नो उम्मेदवारीको विरोध नगरेको बताउनुभएका उपाध्यक्ष ढकालले भन्नुभयो, ‘अध्यक्ष केपी ओली ज्यूले मलाई हाँसेर चिनेको छु भन्नुभएको छ । खुलेर समर्थन गर्नुभएको छैन ।’
यसैबीच, युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठक असोज १५ र १६ गते राजधानीमा बस्दैछ । सोही बैठकले पाँच महिनाका लागि युवा संघ नेपालको अध्यक्ष चयन गर्नेछ । त्यसपछि सो कमिटीले आगामी फागुनभित्र नवौँ महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेछ ।
युवा संघ नेपालमा ओली निकट मानिनु हुने निरु पाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिनुहुने दिलु पन्तले नेतृत्व गरेको समूहले अलग अलग राजनीतिक गतिविधि गर्दै आएका छन् ।
असोज १५ र १६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा दुबै समूह सहभागी भएर अध्यक्ष चयन गर्ने सहमति भएको स्रोतहरुको भनाइ छ । बैठकमा दिलु पन्त समूह सहभागी भएन भने स्थगित हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ ।
युवा संघ नेपालको १ सय २१ सदस्यीय कमिटीमा नेपाल समूहको नेतृत्व गर्नु भएकी दिलु पन्तले पनि बैठकलाई सहयोग गर्ने संस्थापन पक्षको दाबी छ ।















प्रतिक्रिया