– नरेश केसी
भैरहवा, १३ असोज । सोमबार सुचारु भएको भैरहवा नाका मंगलबार ठप्प भएको थियो भने आज बुधबार पुन सञ्चालनमा आएको छ ।
बुधवार विहान नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको बैठकले भारतमा रोकिएका मालवाहक सवारी साधनहरु नेपालमा भित्रयाउने निर्णय गरेसंगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारी साधन भित्रिरहेका छन् ।
यो समाचार तयार पार्दासम्म ६४ वटा ट्रक, २१ वटा बस, एलपी ग्यास एक वटा, कार्बनको ४, अक्सिजन १, पेट्रोल डिजल ४ वटा, नया गाडी १२, र ३ वटा पीकअप पनि भित्रिसकेका छन् । ६४ वटा ट्रकमा फलफुल, नयाँं मोटरसाइकल, गहुँ, चामल, अगरवत्ति, तोरी, सिमेन्ट, प्याज, आलु कमबल, टायर लगायतका सामग्री रहेका छन् ।
अहिलेपनि मालबाहक सवारी साधनहरु भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ताहरु दशगजामा नभएपछि भारतबाट निर्वाध रुपमा नेपालतर्फ सवारी साधन भित्रिएका हुन् ।
मंगलबार सीमानामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडपपछि बुधवार भारतीय बजार सुनौलीमा प्रहरी चौकीमा बसेको बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी राजश्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेल र भारतको तर्फबाट महाराजगंजका सहायक सिडिओ (एसडिएम) बिक्रम सिंह, भारतीय सीमा सुरक्षा बल (एसएसबी) महाराजगंजका कमानडेण्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पंकज श्रीवास्ताव लगायतको सहभागीता रहेको थियो ।
भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालवाहक सवारी साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टीङ गरेर सिमाना सम्म ल्याइरहेको छ ।
भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारी साधनमा कुनै अवरोध नगरेको जनाएको छ । भारतीय सीमा सुरक्षाबल महाराजगन्जका कमाण्डेट खेमसिंह बानकोटीले नेपालतर्फ जाने गाडीमा भारतीय प्रहरीले कुनै अवरोध नगरेको जनाएका छन् ।
लाइनमा बसेका मालबाहक सवारी साधनलाई नेपाल पठाउने भारतीय पक्षले सहमति गरेको बैठकमा सहभागी भैरहवा भन्सार कार्यालयका अधिकृत प्याकुरेलले जनाए ।















प्रतिक्रिया