काठमाडौं, १३ असोज । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ ।
बुधबार रौतहटको गौरमा बसेको मोर्चाको बैठकले सरकारसँग वार्तामा बस्ने निर्णय गरेको हो । मोर्चाको निर्णय अनुसार बिहीबारदेखि तीन दलका नेतासँग छलफल गर्ने, शीर्ष नेताहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने, राजनीतिक प्रतिबद्धतासहितको वार्ताका लागि औपचारिक पत्र पठाएपछि मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गरिने मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सरकासँग वार्तामा बस्ने नीतिगत निर्णय गरेका छौं । त्यसका लागि भोली मैले तीन दलका नेतासँग छलफल गर्ने र सरकारका तर्फबाट विगतमा भएका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहितको औपचारिक पत्र आएपछि मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गर्ने छ ।’
यस्तै, मोर्चाले वार्ताका पूर्वशर्तको रुपमा नेपाली सेना, सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग अघि सारेको छ ।
छलफलमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवको सहभागिता रहेको थियो ।
यसअघि सोमबारदेखि सरकारी टोलीले मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक वार्ता सुरु गरेको थियो ।












प्रतिक्रिया