काठमाडौं, १३ असोज । नेपाल–भारत दशगजा क्षेत्रमा धर्ना बसेर आपूर्ति व्यवस्था ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलि बिहीबार तराईको हुलाकी मार्गमा मानव साङ्लो बनाइ शक्ति देखाउने भएको छ । मानव साङ्लोका लागि मधेसी मोर्चाले नेताहरूलाई जिम्मेवारी पनि तोकेको छ ।
संघीय राज्यको सिमाङ्कन, समानुपातिक र समावेशी प्रतिनिधित्व, अंगिकृत नाकरिकता लिएकालाई पनि राज्यका उच्च पदमा अवसर दिनुपर्नेलगायतका माग अगाडि राख्दै आएको मधेसी मोर्चाले विगत डेढ महिनादेखि आमहड्तालसहितका कार्यक्रम गर्दै आएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले मानव साङ्लोमा सबैलाई सहभागी हुन मधेसी मोर्चाले अपील गरेको बताउनुभयो । ‘मानव साङ्लो विश्वलाई देखाउनकै लागि पनि गर्न लागेका छौँ’, उहाँले भन्नुभयो, ‘मानव साङ्लोले शासकहरूलाई धक्का दिनेछ ।’
मानव साङ्लोलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा पनि मधेसी मोर्चाका शीर्ष नेताहरूले मातहतलाई निर्देशन दिएका छन् । मोर्चाका शीर्ष नेताहरू आज (बुधबार) रौतहटको गौरमा जम्मा भएका छन् । उनीहरूले आन्दोलनको समीक्षाका साथै भावी रणनीति र सरकारी वार्ता टोलीसँग भएको सम्वाद प्रक्रिया र आश्वासनका विषयमा पनि छलफल गर्ने महसचिव सुमनले बताउनुभयो ।
पूर्व झापादेखि पश्चिम कञ्चपुनरसम्म ११ सय ५५ किलोमिटरको दूरीमा सबै स्थानमा मानव साङ्लो बनाइने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मानव साङ्लोको नेतृत्व मोरङमा गर्नु हुनेछ ।
मधेसी मोर्चाले प्रतिएक मिटर एक जनाका दरले हुलाकी लोकमार्गमा उपस्थित गराउनेछ । वार्ता र आन्दोलनलाई मधेसी मोर्चाले सँगसँगै अगाडि बढाउने जनाउँदै आएको छ ।












प्रतिक्रिया