१० कार्तिक २०८३, मंगलबार

एघार संस्थाद्वारा गैसस महासङ्घको सदस्यता परित्याग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ngoखोटाङ, १३ असोज । जिल्लाका ११ संस्थाल गैरसरकारी संस्था महासङ्घको सदस्यता परित्यागको घोषणा गरेका छन् ।

महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट स्वतन्त्र संस्थालाई एमालेको भ्रातृ सङ्गठन बनाएको भन्दै मङ्गलबार पत्रकारसम्मेलन गरेर ती संस्थाले सदस्यता परित्यागको घोषणा गरेका हुन् ।

महासङ्घको जिल्ला अधिवेशनमा एमाले निकट मानिएका व्यक्तिले एकतर्फी समिति घोषणा गरेपछि आफूहरुले सदस्यता परित्याग गरेको नव किरण सेवा समाज नेपालका अध्यक्ष चक्रकुमार राईले बताउनुभयो ।

“गैससकर्मीको साझा संस्था एमालेको भ्रातृ सङ्गठन भएको छ”–उहाँले भन्नुभयो, “राजनीतिक दलको भ्रातृ सङ्गठनको सदस्य भएर काम गर्नु अप्ठ्यारो हुने भएकाले सदस्यता परित्याग गरेका हौँ ।”

जिल्लामा क्रियाशील जन सेवा समाज नेपाल, नव किरण सेवा समाज नेपाल, नव युवा फूलपाती सेवा समाज नेपाल, साकेला क्लब नेपाल, ग्रामीण युवा सशक्तीकरण तथा अनुसन्धान केन्द्र, खोटाङ विकास मञ्च, सगरमाथा तरुण जनजागृति क्लब, एकीकृत विकास मञ्च, खोटाङ सेवा समाज, जनरश्मी सेवा समाज र बरगाँछी युवा क्लबले संयुक्त रुपमा पत्रकारसम्मेलन गरेर सदस्यता परित्यागको घोषणा गरेको हो ।

एघार संस्थाका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै जन सेवा समाज नेपालका अध्यक्ष दानबहादुर राईले अब निकट भविष्यमै गैरराजनीतिक तथा विशुद्ध गैससकर्मीको भेला गरेर साझा संस्था निर्माण गरिने बताउनुभयो । रासस