१ कार्तिक २०८३, शनिबार

घोषित मितिमै टानको निर्वाचन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको चन्द्रप्रसाद रिजाल समूहले घोषित मितिमै निर्वाचन गर्न माग गरेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी सङ्गठन र एकीकृत पर्यटन व्यवसायी सङ्गठनबाट संयुक्त उम्मेदवारी घोषणा गरेको सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी पूर्वघोषित मितिअनुसार नै यही असोज १५ गते टानको नयाँ कार्यसमितिको निर्वाचन हुन माग गरेको हो । सो दिन टान निर्वाचन घोषणा गरी अधिकृतको सचिवालयले निर्वाचन कार्यतालिकासमेत प्रकाशन गरी आफ्नो काम सुरु गरिसकेका अवस्थामा वर्तमान कार्यसमितिले असोज ११ गते अचानक सूचना टाँस गरी निर्वाचन स्थगन गरेको व्यवसायीको भनाइ छ ।

टान अध्यक्षका प्रत्याशी रिजालले पूर्वघोषित मितिअनुसार नै निर्वाचन सम्पन्न गर्नेगरी सबल नेतृत्व चयनका लागि तत्काल प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले घोषित मितिमा निर्वाचन नभए व्यवसायीमाझ गएर दबाब सिर्जना गर्नाका साथै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग संस्थाको वैधानिकताका लागि आग्रह गरिने बताउनुभयो ।

टानले विभिन्न प्रकोपमा परेका मजदुरका परिवारलाई राहत दिने भनी मजदुर सङ्गठनसँगको गरिएको सम्झौता असोज १० गतेसम्मको समयसीमाभित्र कार्यान्वयन नगरेको जनाई विभिन्न मजदुर सङ्गठनले टान कार्यालयमा तालाबन्दी गरेको तर समस्या समाधानका लागि सकारात्मक पहल गर्नाको साटो कार्यसमितिबाट मजदुर सङ्गठनलाई विभाजन गर्ने लगायत हर्कत गर्दै घोषित निर्वाचन प्रक्रियालाई मजदुरको तालाबन्दीका कारण देखाइै स्थगन गरेको रिजाल समूहको भनाइ छ ।

टानको ३६औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि रिजालसहित टानका वर्तमान महासचिव सागर पाण्डेले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रासस