– सुधासुमन ढकाल
दाङ, १२ असोज । ईलाका प्रहरी कार्यालय तुलसीपुरले एक हप्ताको अवधिमा करिव ७ सय लिटर अबैध मदिरा नष्ट गरेको जनाएको छ ।
अबैध मदिरा उत्पादन नियन्त्रण अभियानलाई सक्रिय पारेको प्रहरीले तुलसीपुर बजार र आसपासका क्षेत्रबाट मदिरा बरामद गरी नष्ट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
जाँड–रक्सी सेवनबाट समाजमा विभिन्न खाले आपराधिक घटनामा वृद्धि हुनसक्ने भन्दै नियन्त्रणका लागि अभियान चलाएपछि पछिल्लो समय उत्पादनमा कमी आएको प्रहरीले दाबी गरेको छ । यसका लागि प्रहरीले आफू मातहतका पश्चिम दाङमा रहेका १६ वटा प्रहरी युनिटका ३५ स्थानमा अबैध मदिरा नियन्त्रण समिति गठन गरेको डिएसपी प्रसाईले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले चाडपर्व नजिक आउँदै गर्दा जुवातास र लुटपाटका घटना नियन्त्रणका लागि पनि चनाखो भएर बसेको बताएको छ । लुटपाट हुन सक्ने सम्भावित स्थानहरुमा पनि प्रहरी गस्ती बढाउने योजना प्रहरीले अघि सारेको छ । गाउँ घरमा कुनै पनि आपराधिक क्रियाकलाप भएमा तत्काल प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि आग्रह गरिएको छ ।















प्रतिक्रिया