– सुधासुमन ढकाल
दाङ, १२ असोज । भारतीय नाकाबन्दीको बिरोधमा दाङका युवाहरु सडकमा उत्रिएका छन् ।
सम्बृद्ध दाङ समुन्नत नेपालको आह्वानमा दङाली युवाहरु सडकमा उत्रिएका हुन् । ‘नाकाबन्दी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, मोदी सरकार होसियार, पारवहान सन्धी लागु गर, राष्ट्रवादी शक्तिहरु एक होऔं’ लगायतका नारासहित सडकमा उत्रिएका युवाहरुले नाकाबन्दीको बिरुद्धमा आक्रोश पोखेका छन् ।
घोराहीको सहिद गेटबाट सुरु भएको ¥यालीले घोराहीका विभिन्न भागको परिक्रमा गरी पुनः सहिद गेटमा पुगी सभामा परिणत भएको थियो । विद्यार्थी, पत्रकार, व्यवसायी, द् लोटस् ट्रेनिङ सेन्टरका विद्यार्थीलगायत सयौंको संख्यामा उपस्थित युवाहरुका नाराले घोराही बजार गुञ्जिएको थियो ।
¥याली पश्चात् आयोजित सभामा बोल्ने दङाली युवाहरुले नाकाबन्दी फिर्ता नलिए कडाभन्दा कडा आन्दोलनमा उत्रने चेताबनी दिएका छन् । सम्बृद्ध दाङ समुन्नत नेपालका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको सभामा नेपाली कांग्रेसका रमेश पाण्डे, नेकपा एमालेका बिबेक श्रेष्ठ, एनेकपा माओवादीका प्रविण शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संयोजक मिनराज भाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष कैलाश रोकाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महासचिव केशरमान बिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।















प्रतिक्रिया