काठमाडौँ, ११ असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १५ दिन नेपालको भ्रमण गर्न आउनेलाई वंशजको आधारमा नागरिकता दिने मागसहित बन्द, हडताल गर्ने नेतालाई कायरको सज्ञा दिनुभएको छ ।
मोटिभेट ग्रुप अफ कम्पनी प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका (www.motivatenews.com) आज यहाँ उद्घाटन गर्दै मन्त्री पण्डितले आफ्नो व्यक्तिगत स्वार्थका लागि छिमेकीको सीमानामा बसी नेपाली जनतामाथि ढुङ्गा बर्साउने, दैनिक जीवनमा असर पर्ने गरी नाकाबन्दी गर्ने व्यक्ति राष्ट्रवादी हुन नसक्ने बताउनुभयो ।
मन्त्री पण्डितले भन्नुभयो, “आफ्नै घरमा आगो लगायो भने भाँडा माझ्ने खरानीको कमी हुँदैन, जसले जसरी यो मुलुकलाई आगो लगाउन काम गरेको छ त्यो राष्ट्रघाती छ, म नेपालको भौगोलिक खण्डता, स्वतन्त्रताको लागि ज्यान दिन तयार छु ।” नब्बे प्रतिशत सभासद् मिलेर नेपालको नयाँ संविधान बनाएकाले यसमा प्रजातान्त्रिक मुलुक छिमेकी भारतले प्रश्न उठाउन नहुने बताउनुभयो ।
एनव्याब्सनका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले नेपालको राजनीतिक अस्थिरताको कारण लाखौँ बालबालिकाले पढ्नबाट वञ्चित भएको बताउँदै उनीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न आग्रह गर्नुभयो । युवा वैज्ञानिक राम रिमालले नेपालमै विज्ञान र प्रविधिको विकास गर्न सकिने भन्दै आफूले निर्माण गरेका प्रविधिलाई प्रवद्र्धन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
मुटु रोग विशेषज्ञ डा अनिल भट्टराईले नयाँ किसिमको अनलाइन आएकाले यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अनलाइन पत्रिकाका सम्पादक रवी कटवालले पृथक शैलीको पत्रकारिताबाट विश्वमा नेपाल र नेपालीको शिर उच्च राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस















प्रतिक्रिया