१ कार्तिक २०८३, शनिबार

जनतालाई भड्काउने गतिविधि नरोके मधेसी दलले मधेस छाड्नुपर्छ: नेता नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalकाठमाडौँ, ११ असोज । नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराई मधेसमा आन्दोलनरत दललाई अविलम्ब वार्ताको टेबुलमा आएर समाधान खोजी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा ले स्पष्ट नभएका कुरामा थप स्पष्ट हुन, सरकार समेत परिवर्तन हुन लागेको यस घडीमा राष्ट्र निर्माणको अभियानमा सहभागी हुन र मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्ने कुरामा योगदान गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकले लोकतान्त्रिक र प्रगतिशील संविधान पाएको छ, अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बेला आएको छ । संविधानसभाको निर्वाचन र संविधान निर्माणको अन्तिम प्रक्रियामा छुटेका साथीहरु राष्ट्र निर्माणको यात्रामा जहाँबाट जतिखेर सकिन्छ, त्यतिखेर नै सामेल हुनुपर्छ । आन्दोलन सञ्चालन गर्ने दलले त्यस्ता अवाञ्छित गतिविधि तुरुन्त बन्द गर्नुपर्छ वा बन्द गर्न सक्दैनन् भने आफूलाई त्यसबाट अलग राख्नुपर्छ ।” नयाँ संविधाले कुनै पनि अर्थमा मधेसका जनतामाथि भेदभाव नभएको उहाँले बताउनुभयो ।

नेता नेपालले एमालेका कुनै पनि कार्यकर्ता मधेसमा भइरहेको हिंसात्मक गतिविधिमा संलग्न नभएको र भएको पाइएमा कारबाही हुने जनाउँदै मुलुकलाई नै सङ्कटमा धकेल्ने गरी नाकाबन्दी गर्ने जस्ता कुराले कसैको पनि भलो नगर्ने बताउनुभयो । उहाँले चाडपर्वको सम्मुखमा आपूर्ति व्यवस्था असहज हुनुले नेपालीमा कष्ट थपिएको उल्लेख गर्दै भन्नुभयो, “दुवानी क्षेत्रमा देखिएको अवरोध अविलम्ब हटाउन र निर्वाध आवागमनको व्यवस्था सञ्चालन गर्न सार्वभौम मुलुकको पारवहन अधिकार दृष्टिबाट पनि म भारत सरकारलगायत सम्बद्ध सबैमा आग्रह गर्दछु ।”

नेता नेपालले मुलुकका अङ्गीकृत नागरिकता लिने बित्तिकै उसले प्रमुख विशिष्ट पदमा जान नपाउने आममान्यता रहेकाले त्यसका नाममा मधेसका व्यक्तिले मन्त्री, सांसद् बन्न पाउँदैनन् भनेर भ्रम फिजाइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान बनाउँदा कुनै पनि मुलुकले असहमति राख्नुपर्ने अवस्था नरहेको भन्दै नेपालले आफ्नो स्वाभिमानको झण्डा फहराउन पाउनुपर्ने भन्दै तराई मधेसमा जनताका बीच संविधानमा भएका अधिकारबारे स्पष्ट पार्न कार्यकर्ता परिचालन गर्ने नीति लिइएपनि सकेसम्म वार्ता होस् र मुठभेड नहोस् भनेर धैर्य गरेको बताउनुभयो ।

एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले संविधान जारी भएपछि पार्टीले मङ्गलबार काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको जानकारी दिनुभयो ।

पार्टीका उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीलगायत नेता उपस्थिति हुनुहुन्थ्यो । रासस