– सुधासुमन ढकाल
दाङ, ११ असोज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधानको कुव्याख्या र गलत प्रचार नगर्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा आयोजना गरेको ‘संविधानका अन्तरबस्तु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– ‘संविधानले मधेशी जनतालाई कुनै अधिकार दिएको छैन भन्ने कुव्याख्या र कुप्रचार आन्दोलनरत साथीहरुले गरिरहनुभएको छ, यसो गर्नु मधेसी र पहाडी जनताका बीचमा द्वन्द्व फैलाउने काम गर्नु हो ।’
संविधानमा उल्लेख भएका कुराहरुलाई जस्ताको तस्तै नबुझ्दा समस्या उत्पन्न भइरहेको भन्दै ज्ञवालीले संविधानका अन्तरबस्तुका बारेमा प्रकाश पार्न दलहरुले मधेसकेन्द्रीत साझा कार्यक्रम गर्ने तयारी भइरहेको बताउनुभयो । ‘नेकपा एमालेले भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ कार्यक्रम तय गरेर तराई, मधेशमा संविधानको प्रचारप्रसार गर्ने कार्यक्रम अघि सार्दैछ’, ज्ञवालीले भन्नुभयो, ‘एमाले एक्लैले र दलहरुसँगको संयुक्त कार्यक्रम गरेर मधेसी जनतालाई संविधानका बारेमा जानकारी गराउँछौं ।’
सीमांकनको बिरुद्धमा चलेको आन्दोलन मधेसका एकाध व्यक्तिको स्वार्थपूर्तिका लागि भएको भन्दै सभासद्समेत रहनुभएका ज्ञवालीले संविधानले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने धेरै आधार रहेको दाबी गर्नुभयो । ‘संविधान मधेस विरोधी छ भन्नु संविधानको भावना बिपरित जानु हो । संविधानले समावेशी र समानुपातिक प्रतिनिधिको ज्ञारेन्टी गरेको छ’, ज्ञवालीले भन्नुभयो, ‘यदि यसमा पनि चित्त बुझ्दैन भने मधेशका समस्या समाधान गर्न मधेशी आयोग बनाइएको छ । त्यसैले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गरौं ।’
संविधान गतिशील भएकाले आन्दोलनरत पक्षलाई नआत्तिन आग्रह गर्दै ज्ञवालीले संविधान संशोधनका लागि तोडफोड, बन्द हड्ताल गर्नु आवश्यक नरहेको प्रष्ट्याउनुभयो । अर्को प्रसंगमा बोल्दै नेता ज्ञवालीले नयाँ संविधानले ७० वर्षे राजनीतिक इतिहासमा नयाँ मोड भित्रिएको बताउनुभयो । संविधानले नेपालको आगामी दिशा र मार्गदर्शन प्रदान गरेको भन्दै उहाँले नेपालको संविधानलाई संसारकै उत्कृष्ट संविधान भन्दा अतिशयुक्ति नहुने बताउनुभयो । संविधानले जनतालाई धेरै अधिकार दिएको भन्दै ज्ञवालीले यसको कार्यान्वयन नै वर्तमानको मुख्य चुनौति रहेको बताउनुभयो ।
संविधानको सारतत्व हेर्दा नेपालीहरुले गौरव गर्नुपर्ने भन्दै ज्ञवालीले संसारकै विकसित मुलुकहरुमा नभएको उत्कृट समावेशीताको नमुना नेपाली संविधानमा भएको दावी गर्नुभयो । संविधानमा गरेको व्यवस्थाबाट राज्य पन्छिन नपाउने हुँदा अब सबै जनता अधिकार सम्पन्न हुने पनि ज्ञवालीको दाबी थियो । ‘आन्दोलन पक्षलाई समेट्न संविधान संशोधन गर्नुहुन्छ ?’ भनि सोधिएको प्रश्नको जवाफमा ज्ञवालीले राष्ट्रिय अखण्डता, संघीयता, गणतन्त्र बाहेकका मुद्दा संशोधन गर्नसकिने बताउनुभयो । तराईका साना पार्टीहरुलाई मधेसका प्रतिनिधि ठानेर भारतले नाकाबन्दी गर्नु दुर्भाग्य हो भन्दै ज्ञवालीले नाकाबन्दीले भारमा ठूलो आर्थिक मन्दी छाउने दाबी गर्नुभयो ।
‘भारतले गरेको अघोषित नाकाबन्दीप्रति विदेशी मुुलुकको चाँसो उत्पन्न भएकाले नाकाबन्दी लामो समयसम्म टिक्दैन’, ज्ञवालीले भन्नुभयो, ‘नाका खुलाउनका लागि मन्त्रीस्तरिय वार्ता थालिएको छ । संयुक्त राष्ट्रसंघसँग छलफल भइरहेको छ ।’
बिश्वासिलो ठानिएको मित्र भारतले पछाडिबाट छुरा हान्ने काम गरेको पटक–पटक दोहो¥याउनुभएका ज्ञवालीले अब नेपालले आत्मनिर्भरताको बाटो खोज्नुपर्ने बताउनुभयो ।
जिल्ला अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै ज्ञवालीले नाकाबन्दीबाट शिक्षा लिएर संसारका अन्य मित्रराष्ट्रहरुसँग सम्बन्ध बिस्तार गर्नुपर्ने बताउनुभयो, ‘आत्मनिर्भर बनेर संविधान बनाएर आत्मनिर्भरताको सुरुवात गरेको नेपालले अब आत्मनिर्भरताको गन्तव्य तय गर्नुपर्छ ।’












प्रतिक्रिया