काठमाडौं, १० असोज । मधेसी दलहरुको आन्दोलन र ती दलका नेताहरुको आग्रहमा भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपालस्थित भारतीय राजदूतावास घेराउ गरेको छ ।
अन्तर्राष्ट्रिय सन्धि र कानुनहरुको उल्लंघन गर्दै भारतीय पक्षले नेपालमा अघोषित नाकाबन्दी लगाएको भन्दै विप्लव माओवादीले आज काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास घेराउ गरेको हो । दलबलसहित पुगेका हज्जारौँको संख्याका विप्लव माओवादीका नेता तथा कार्यकर्ताले भारतविरुद्ध चर्का नारावाजी गरेको भक्तपुरका सेक्रटरी तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।
नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमतामा भारतले गरेको ठाडो हस्तक्षेपको विरोधमा माओवादीले भारतीय दूतावास घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएको मल्लले बताउनुभयो ।
माओवादीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि भारतले धावा बोलेको आरोप लगाएको छ । उसले भारतको हैकमवादी चरित्र नत्यागे त्यसको भारतीय पक्षले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।
मधेसी दलहरुको नाकाबन्दी कार्यक्रमलाई सहयोग गर्न भारतले तीन दिनदेखि नेपालमा अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।
नाकाबन्दी लगाएकोमा भारतको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आलोचना भएको छ ।
विप्लव माओवादीले भारतले नाकाबन्दी फिर्ता लिन दवाव दिनका लागि भारतीय नम्बर प्लेटका सवारी सधानलाई चल्न अबरोध गर्न थालिसकेको छ । उसले हिन्दी फिल्म र टेलिभिजन तथा विज्ञापन पनि बन्द गर्न लगाइसकेको छ ।
यदि आफ्नो आन्दोलनलाई सहयोग नगरे सरोकारवाला निकायहरुलाई हस्तक्षेप गर्नेसम्मको चेतावनी विप्लव माओवादीले दिएको छ ।












प्रतिक्रिया